रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

काठमाडौं। रियल मड्रिडका अर्जेन्टिनी युवा खेलाडी फ्राङ्को मास्तान्तुओनोले क्लबका लागि च्याम्पियन्स लिगमा नयाँ इतिहास रचेका छन्।
मंगलबार (१६ सेप्टेम्बर) समूह चरणको खेलमा मार्सेलीविरुद्धको प्रतिस्पर्धामा उनी पहिलो रोजाईमा मैदान उत्रिए। योसँगै रियलको इतिहासमै च्याम्पियन्स लिगको पहिलो रोजाईमा स्थान बनाउने सबैभन्दा कान्छो खेलाडी बने।
नयाँ सिजनको पहिलो खेलमा फ्रान्सेली क्लब मार्सेलीलाई २–१ ले पराजित गर्ने क्रममा मास्तान्तुओनोले यस उपलब्धि हासिल गरेका हुन्।
खेलको दिन मास्तान्तुओनोको उमेर १८ वर्ष ३३ दिन थियो। यसअघि यो कीर्तिमान ब्राजिलियन युवा एन्ड्रिकको नाममा थियो। गत सिजन एन्ड्रिकले १८ वर्ष ७३ दिनको उमेरमा पहिलो रोजाईमा स्थान बनाउँदै क्लबका सिनियर खेलाडी राउल गोंजालेजको कीर्तिमान तोडेका थिए।
यसैबीच, च्याम्पियन्स लिगको इतिहासमा पहिलो क्लबका रूपमा २०० खेल जित्ने उपलब्धि पनि रियल मड्रिडले मंगलबार रातै हात पारेको छ। सान्टियागो बेर्नाबेउमा भएको मार्सेलीविरुद्धको खेलमा किलियन एम्बाप्पेले पेनाल्टीमार्फत दुवै गोल गर्दै टोलीलाई जित दिलाए।