काठमाडौं। नेपालविरुद्धको मैत्रीपूर्ण खेललाई लिएर बंगलादेशको तयारीमा एक किसिमको उथलपुथ आएको थियो।
१३ अगस्टदेखि नै क्याम्प सुरु गरे पनि स्पेनिस प्रशिक्षक हाभियर क्याब्रेराले पूर्ण स्क्वाडसहित अभ्यास गर्ने मौका पाएका थिए मात्र दुई दिन। त्यसैले हिमालको देशमा आएर उनले कत्तिको टिमको कम्बिनेसन मिलाउन सकेका छन् भन्ने कुरा अब मैदानमै प्रमाणित हुनेछ।
दलबलको हिसाबमा नेपालभन्दा कुनै अंशमा अघि छैन बंगलादेश। यदि हम्जा देवान चौधरी र समित शोमजस्ता खेलाडीहरू उपस्थित हुन्थ्यो भने बंगलादेश र नेपालबीच भिन्नता देखिन्थ्यो।
तर, उनीहरू अनुपस्थित भएपछि त्यो सम्भावना हराएको छ। फलतः केही हदसम्म डिफेन्सिभ खेल्नुपर्ने बाध्यता छ क्याब्रेराको टोलीलाई। यद्यपि, प्रशिक्षकले भने प्रतिद्वन्द्वीलाई समान स्तरमै राख्दै आएका छन्।
पत्रकार सम्मेलनमा क्याब्रेराले भने,‘मेरो विचारमा दुवै टोलीबीच धेरै ठूलो अन्तर छैन। शक्ति र क्षमताको हिसाबले हामी प्रायः समान स्तरमै छौं। तर, यहाँ खेल्नु सजिलो छैन। पछिल्लो पटक नेपाल आएर हामी हारेर फर्किएका थियौं, त्यो मलाई अझै याद छ। तर, यसपटक परिस्थिति फरक छ। आशा छ राम्रो नतिजा ल्याउन सक्छौं। हम्जा वा समित शोम भए हामी निश्चित नै अघि रहन्थ्यौं।’
यसपटक नेपालविरुद्धको खेल बंगलादेशका लागि मुख्यतया हङकङविरुद्ध हुने एएफसी एसियन कप छनोटको तयारीको हिस्सा हो। सुरुमा बंगलादेश फुटबल महासंघ (बीएफएफ) ले भनेजस्तै युरोपेली बलिया टोलीसँग वा एसियाकै शीर्ष स्तरका राष्ट्रसँग खेल्ने अवसर मिलेन। त्यसैले त्रिपुरेश्वरस्थित दशथर रंगशालामा हुने यी दुई मैत्रीपूर्ण खेलमार्फत नै तयारीलाई अन्तिम रूप दिनुपर्ने भएको छ।
कप्तान जमाल भुइयाँले पनि यसलाई निकै महत्त्वपूर्ण खेल ठान्छन्। उनले भने,‘यो खेल हाम्रो एएफसी छनोट तयारीकै हिस्सा हो। हङकङसँग मैदानमा उत्रनुअघि हामीसँग अन्य कुनै खेल छैन। त्यसैले यो खेल हाम्रो लागि अत्यन्तै महत्त्वपूर्ण छ। यो तयारी खेल हो भनेर हल्का रूपमा लिन सकिँदैन। हामी जित निकाल्न चाहन्छौं। यसले टोलीभित्रको आत्मविश्वास बढाउँछ।’
बंगलादेशले नेपालसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्दैछ। पहिलो खेल सेप्टेम्बर ६ मा दशरथ रंगशालामा हुने छ भने दोस्रो खेल यही भेन्युमा सेप्टेम्बर ९ मा। यी दुवै खेल एएफसी छनोट अघि आत्मविश्वास जगाउने प्रमुख अवसर मानिएको छ।