काठमाडौं । विजय सिञ्जालीले सानो उमेरदेखि नै उसुमा छाप छोड्दै आएका हुन्।
उसुको हरेक प्रदर्शनी खेलमा एउटा फुच्चे केटोले जहिले पनि स्टेजमा सबैको ध्यान तान्न सफल हुन्थे। लचिलो जिउ र उस्तै खालको 'डेमो' दिन भएकोले विजय सिंजाली सबैको प्यारो बन्यो।
उनी जुनियरमा च्याम्पियन थिए। उनको प्रतिभा निखारिँदै गयो र लगातार पदकहरु जित्न थाल्यो। परिणाम डेढ दशकको मेहनत स्वरुप अहिले विजय राष्ट्रिय हिरोको रुपमा परिचित भएका छन्।
सन् २०१६ को १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक सम्म पुगेका थिए। तर साग स्वर्णको हुटहुटीले उनलाई आराम गर्न दिएन। फलत नेपालमै सम्पन्न १३ औं सागमा थाउलोको चवाङक्वाङमा विजयले ९.४८ अंक हासिल गर्दै स्वर्ण जित्ने सपना पूरा गरे। यो स्वर्णले उनको चर्चा चुलियो।
निकै फर्ममा रहेका विजय त्यतिमै रोकिने स्वभावका थिएनन्। गत अक्टोबरमा जापानको योकोहामा सम्पन्न तेस्रो थाउलो विश्वकपमा काश्य पदक जितेर उनले नयाँ इतिहास रचिदिएका छन्। नौ जना खेलाडीबीच प्रतिस्पर्धा हुँदा अमेरिका, मेक्सिको, बेलायतलगायत ६ वटा देशका खेलाडीलाई पछि पार्दै उनले काश्य पदक प्राप्त गरेका हुन्।
यही पदकका कारण नेपाल सरकारले विजयलाई ६५ लाख रुपैंयाले पुरस्कृत गर्यो । अनि नेपाली खेलकुदमा सरकारबाट अहिलेसम्मकै ठूलो रकम पाउने खेलाडीमध्येका एक बने।
एकपछि अर्को लगातारको सफलताका कारण चर्चित बनिरहेका विजय नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधामा मनोनयनमा परेका छन् ।




“मैले यो अवार्डमा ८–१० वर्षसम्म 'स्टेज शो' गरेको छु। त्यतिबेला म पनि कुनै दिन मनोनयनमा पर्छु होला भन्ने सपना देख्थे। अहिले मनोनित हुन पाउँदा सपना पूरा भएजस्तै भएको छ,” समर्थक, खेल प्रशिक्षक र खेलकुद पत्रकारहरुको मतका आधारमा विजेता चुनिने यो विधाको मनोनयनमा परेपछि विजयले भनेका थिए।
आफ्नो खेल उसुमा देशलाई पदक दिलाउन माहिर छन् विजय। तर, कुनै कार्यक्रममको मञ्चमा बोल्नुपर्दा भने उनलाई सहज लाग्दैन। उनी आफ्नो कुरा सिधा सिधा राख्न रुचाउँछन्।
भन्छ्न् “हाम्रो देशमा मेरो खेल उसु त्यति चर्चित नहोला, जति फुटबल, क्रिकेट र भलिबल छ। यो नै वास्तविकता हो। तर मेरो मनोनयनले उसुलाई पनि चर्चामा ल्याउने छ भन्ने मलाई विश्वास छ।”
त्यसो त थाउलो विश्वकपमा जितेको कांश्यले मात्रै विजयको करियरलाई न्याय गर्दैन। अन्य थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले पदकहरु निरन्तर जसो भित्राइरहेका छन्।
उनले साउदी अरेबियाको रियादमा भएको विश्व कम्ब्याट च्याम्पियनसिपमा पनि कांस्य जितेका थिए। त्यस्तै चीनमा सम्पन्न दुई अन्तर्राष्ट्रिय आमन्त्रण उसु च्याम्पियनसिपमा तुइलेन विधामा तेस्रो स्थान र जियान्सु विधामा आठभित्र पर्नसमेत सफल भए । त्यसैका आधारमा उनले थाउलु विश्वकपमा स्थान बनाएका थिए। यसैगरी उनी एसियन युनिभर्सिटी उसु च्याम्पियनसिपका प्रतिस्पर्धी खेलाडीसमेत हुन्।
विजयले नेपालभित्रै हुने प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मीको प्रतिनिधित्व गरिरहेका छन्। उमेरले २४ वर्षमात्रै पुगेका विजय आफ्नो खेलयात्रामा साथ दिने परिवार, साथी, प्रशिक्षकप्रति कृतज्ञ छन्। यसमा विभागीय टोली आर्मीले उनलाई बलियो साथ दिएको छ ।
पिपल्स च्वाइसको मनोनयनमा रहे पनि विजय नेपाली खेलकुदमा आफ्नो खेलको उपस्थिति अझ बलियो बनाउन प्रयासरत छन्। “ उसु परिवारको साथ सदा झै मेरो लागि महत्वपूर्ण हुनेछ।”
पिपल्स च्वाइस अवार्डको विजेता छनोट भोटिङबाट हुने गर्छ। त्यसमध्ये ५० प्रतिशत मतभार ई–सेवाको भोटिङको हुनेछ। सामाजिक सञ्जाल फेसबुकको मतभार २५ प्रतिशत छ। बाँकी २५ प्रतिशत भोट पत्रकार र मुख्य प्रशिक्षकको हो।
अवार्डको यो चर्चित विधामा यस अघि उसुकी झरना गुरुङले बाजी मारिसकेका छन्। अब पालो हो उसुकै अर्का खेलाडी विजय सिंजालीको।