काठमाडौं। नेपालबाट एएफसी महिला च्याम्पियन्स लिगमा सहभागी हुन उज्बेकिस्तान पुगेको विभागीय टोली एपिएफ क्लबको यात्रा सोचेझैं सुरु भएन।
मार्काजी रंगशालामा सोमबार घरेलु टोली एफसी नासाफसँग भिडेको एपिएफ ३–० को स्पष्ट अन्तरले पराजित भयो। खेलको सुरुआती १५ मिनेटमै नासाफले दुई गोल गर्दै एपिएफलाई हचम्च्याइदियो।
खाबिबुल्ला इभाले १३औं र १६औं मिनेटमा लगातार गोल गर्दा एपिएफको डिफेन्स चिरिएको थियो। त्यसपछि ३३औं मिनेटमा मफतुना शोयिमोभाले अर्को गोल थपिन्। पहिलो हाफमै ३–० को स्कोर बनेपछि एपिएफ दबाबमा पर्यो।
दोस्रो हाफमा भने टोली केही सम्हालियो। अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट यही प्रतियोगितालाई मध्यनजर गर्दै एपिएफमा अनुबन्ध भएका विमला विक र समीक्षा घिमिरेसहितको डिफेन्सले थप गोल हुन दिएन। तर, आक्रमणतर्फ अपेक्षित धारिलोपन देखाउन सकेनन्।
खेलपछि मुख्य प्रशिक्षक चेतन घिमिरेको अनुहारमा निराशा र आत्मविश्वास दुवै झल्किएको थियो। उनले भने,‘हामीले प्रयास गर्यौं। तर, ध्यान र एकाग्रता अभावले गोल खानुपर्यो।’ गत वर्ष मलेसिया भएको प्रारम्भिक चरणको खेलमा पनि यी दुई टोली भिडेका थिए। तर, नेपालले उत्कृष्ट प्रदर्शन देखाएको थियो।
यद्यपि, उक्त खेलमा पनि नासाफले १–० ले बाजी मारेको थियो। एपिएफ मूलत: नेपाली महिला राष्ट्रिय टोलीकै स्वरूपमा मैदान उत्रिँदै आएको छ। त्यसैले यो हार क्लबको नभई राष्ट्रको पनि हो। मुख्य प्रशिक्षक चेतनले यो खेललाई यसरी नै विश्लेषण गर्नुपर्छ।
अझ राष्ट्रिय टोलीका डिफेन्डरद्वय विमला र समीक्षाको आगमनले एपिएफ बलियो हुने आश गरिएको थियो। तर,यसपल्ट मिडिफिल्डर प्रीति राई र स्ट्राइकर सावित्रा भण्डारी साम्बा’को अभाव पनि खड्कियो। सावित्राबिना एपिएफले गत संस्करणका तीनमध्ये दुई खेलमा हार र एकमा बराबरीको नतिजा ल्याएको थियो।
एक दशकभन्दा बढी समयदेखि घरेलु प्रतियोगितामा यो टोलीलाई कसैले चुनौती दिन सकेका छैनन्। तर, नेपालबाहिरको खेलमा भने त्यस्तो रवाफ देखाउन नै सकेन। पहिलो खेलमा डिफेन्स कमजोर भएको स्वीकार गर्दै टोली अब थप सतर्क हुने चेतनको लक्ष्य हुनेछ।
उनी भन्छन्, ‘समग्रमा खेल राम्रै खेल्यौं भन्ने लाग्छ। यो हाम्रो पहिलो खेल हो, यहाँ प्रतिस्पर्धा गर्न निकै कठिन छ। बाँकी दुई खेलमा भने हामी तीन अंक निकाल्ने आशा राख्छौं।’ अब नेपालले बिहीबार कलेज अफ एसियन स्कलरलाई चुनौती प्रस्तुत गर्नेछ।
यो क्लबले सोही मैदानमा भएको पहिलो खेलमा साउदी क्लब अल–नासरलाई २–० ले पाखा लगाएको थियो। समान ३ अंक भएपनि नासाफ समूह ‘बी’ को शीर्ष स्थानमा छ। एसियन भने दोस्रो स्थानमा छन्। एपिएफले बिहीबार एसियनलाई चुनौती प्रस्तुत गरिरहँदा नासाफ भने अल–नासरसँग जित निकाल्दै छनोट हुने सम्भावना बलियो बनाउने तरखरमा हुनेछ।
तर, नेपालकी खेलाडीको अनुहारमा निराशा भए पनि लक्ष्य अझै बाँकी दुई खेलतर्फको नतिजामा छन्। पहिलो खेलको हारपछि छनोट यात्रा कठिन भएपनि एपिएफ अझै बाहिरिएको छैन भन्ने भावना टोलीभित्र जीवित रहेको चेतन सन्देश दिन चाहन्छन्।