काठमाडौं। १६ वर्षे वैकल्पिक खेलाडी रियो न्गुमोहाँले इन्जुरी समयमा निर्णायक गोल गर्दै लिभरपुललाई १० खेलाडीमा सीमित न्यूकासलमाथि ३–२ को नाटकीय जित दिलाएका छन्।
‘यही कारणले प्रिमियर लिग विशेष हुन्छ,’ प्रशिक्षक आर्ने स्लोटले भने, ‘दुनियाँभरका फुटबल प्रेमीले यो खेल रमाइलोका साथ हेरे। दर्शक पनि अद्भुत थिए। धेरै खुला खेल भएन, सेट–पीस र लामो थ्रो बढी भए। तर, हामीले बलमा पर्याप्त राम्रो खेल्न सकेनौं, अन्ततः मजबुत रह्यौं।’
सोमबार राति सेन्ट जेम्स पार्कमा भएको प्रिमियर लिगको रोमाञ्चक खेलमा पहिलो हाफको अन्त्यतिर एन्टोनी गोर्डनले रातो कार्ड खाँदा न्यूकासल १० खेलाडीमा झरेको थियो।
लिभरपुलले पहिलो हाफमै १–० को अग्रता लिएको थियो र दोस्रो हाफ सुरु भएको केही सेकेन्डमै ह्युगो एकिटिकेले अर्को गोल थप्दा खेल लिभरपुलतर्फै ढल्किएको जस्तो देखियो।
तर, ५७औं मिनेटमा ब्रुनो गुइमाराएसले हेडिङ गोल गर्दै न्यूकासललाई खेलमा फर्काए। ८८औं मिनेटमा सब्स्टिच्युट विलियम ओसुलाले लामो बललाई कन्ट्रोल गरेर गरेको गोलले ५२ हजार २०० दर्शकको आवाज स्टेडियममा उत्साहले गुञ्जाए।
दोस्रो हाफमा सान्ड्रो टोनाली र फाबियन स्कार घाइते भएपछि कम्तीमा ११ मिनेट अतिरिक्त समय दिइएको थियो। त्यसबीच न्यूकासल निरन्तर आक्रमणमा रहँदा उसले चमत्कारिक जित निकाल्ने सम्भावना बलियो देखिएको थियो।
तर, प्रशिक्षक स्लोटका पछिल्ला परिवर्तन निर्णायक साबित भए। अतिरिक्त समयको छैटौं मिनेटमा पहिलोपटक प्रिमियर लिगमा खेलेका न्गुमोहाँले चार मिनेटमै खाली ठाउँ पाउँदा उत्कृष्ट फिनिश गर्दै विजयी गोल गरे।
उनको जन्मदिन आउन चार दिन बाँकी छ। यो गोलसँगै उनी प्रिमियर लिग इतिहासमा चौथो सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन्। यसअघि यो सूचीमा जेम्स भोन, जेम्स मिल्नर र वायन रूनी रहेका थिए।
यो खेलअघि धेरै चर्चा न्यूकासलका असन्तुष्ट स्ट्राइकर अलेक्जान्डर इसाकलाई लिएर थियो। लिभरपुलको ११० मिलियन पाउण्डको प्रस्ताव अस्वीकार गरेपछि उनी खेलिरहेका छैनन् र ट्रान्सफर चाहिरहेका छन्।
दर्शकहरूले प्रशिक्षक एडी हाउलाई सम्मान गर्दै ‘नथिङ इज अर्चिभ अलोन, विइ आर अ सिटी, अ होल पपुलेस’ भन्ने ब्यानर पनि प्रदर्शन गरे। गोर्डनले पहिलो हाफमा स्ट्राइकरको भूमिकामा उत्रिँदै जोशिलो खेल खेले पनि भर्जिल भान डाइकलाई पछाडिबाट लड्काउँदा रातो कार्ड खान पुगे।
लिभरपुलका लागि रायन ग्राभेनबर्चले १६ महिनापछि प्रिमियर लिगमा गोल गरेका थिए। त्यसपछि एकिटिकेले दोस्रो गोल थपे। गुइमाराएसले फर्कने आशा जगाए तर अन्ततः न्गुमोहाँको नायकत्वले खेल लिभरपुलको पोल्टामा पुग्यो।
‘यो सपना जस्तै डेब्यू हो, म उनको लागि निकै खुसी छु,’ भान डाइकले भने, ‘उनले मिहिनेत गर्नैपर्छ, नम्र रहनैपर्छ तर यस्तो क्षणलाई मजा लिनुपर्छ। हामीसँग भएको टोलीमा उनलाई फेरि कठोर प्रशिक्षणमा देख्नेछु।’
यस जितसँगै लिभरपुल दुई खेलमा दुई जित निकाल्ने टोली बनेको छ। आर्सनल र टोटनह्याम मात्र अन्य दुई टोली हुन् जसले सुरुआती दुई खेल जितेका छन्। न्यूकासल भने पहिलो दुई खेलमा एक अंकमा सीमित छ।