काठमाडौं। विभागीय टोली एपिएफ एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक छनोटको पहिलो खेलमै पराजित भएको छ।
उज्बेकिस्तानको मार्काजी रंगशालामा सोमबार सम्पन्न खेलमा घरेलु टोलीसँग एफसी नासाफसँग एपिएफ ३–० ले पराजित भएको हो। नासाफको जितमा खाबिबुल्ला इभाले २ र मफतुना शोयिमोभाले १ गोल गरिन्।
नेपाली राष्ट्रिय टोली नै लिएर एपिएफ मैदान उत्रिएको थियो। तर, डिफेन्समा चुक्दा पहिलो हाफमै ३ गोल खाएको थियो।
यसपल्ट एपिएफले डिफेन्समा सुधार गर्न भन्दै अर्को विभागीय क्लब त्रिभुवन आर्मीबाट विमला विक र समीक्षा घिमिरेलाई भित्र्याएको थियो। यी दुई खेलाडी पनि उपयोगि साबित हुन सकेनन्।
दोस्रो हाफमा डिफेन्समा सुधार गरे पनि एपिएफले गोल भने फर्काउन सकेन। खेलको १३औं मिनेटमै खाबिबुल्लाको गोलमार्फत नासाफले सुरुआती अग्रता लिएको थियो।
सम्हालिन नपाउँदै त्यसको ३ मिनेटपछि नै उनले अग्रता दोब्बर बनाइ। ३३औं मिनेटमा माफतुनाले अर्को गोल गर्दै उक्त अग्रता ३–० मा पुर्याएकी थिइन्। त्यसपछि थप गोल हुन सकेन।