काठमाडौं। म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसले आइतबार प्रिमियर लिगमा पेनाल्टी चुक्नुपर्ने अवस्थासम्म आइपुग्दा रेफ्रीको सानो त्रुटिले पनि भूमिका खेलेको देखियो।
फुलहमविरुद्धको खेलमा पेनाल्टी लिन तयारी गर्दै फर्नान्डेस पछाडि सरेका बेला रेफ्री क्रिस काभानाफसँग ठोक्किए। रेफ्री उनी वरिपरि जान खोज्दै गर्दा यो घटना भएको हो।
ठोक्किएको क्षणमा फर्नान्डेसले हात उठाएर असन्तोष प्रकट गरे र बल उठाए। केही सेकेन्डपछि उनले पुनः बललाई स्पटमा राखे र आत्मसंयममा आउन खोजे। तर, प्रहार गर्दा बल बार माथि गयो।
पहिलो हाफको अन्त्यसम्म क्रेभेन कुटेजमा स्कोर गोलरहित बराबरी नै रह्यो। फर्नान्डेसले खेल सकिएपछि भने, ‘म रिसाएको थिएँ। प्रत्येक पेनाल्टी लिने खेलाडीको आफ्नै तरिका हुन्छ। रेफ्रीले मसँग माफी नमागेको कुरा मलाई झन् अप्ठ्यारो लाग्यो। तर, पेनाल्टी मिस गर्नुको बहाना त्यो होइन। मैले बलमा खराब प्रहार गरें। खुट्टा धेरै तल गएको कारण बल बारमाथि गयो।’
दोस्रो हाफ सुरु हुनु अघि फर्नान्डेसलाई रेफ्रीसँग कुरा गर्दै देखिएको थियो। युनाइटेडका प्रशिक्षक रुबेन अमोरिमले पेनाल्टी मिसको असर उनको सम्पूर्ण खेलमा परेको बताए। खेल १–१ को बराबरीमा टुंगिएको थियो।
अमोरिमले भने, ‘उनी पेनाल्टी मिस गर्ने खेलाडी होइनन्। उनले प्रत्येक क्षणको महत्त्व बुझ्छन्। तर, खेलभरि उनी खासै खुसी देखिएनन्, न त पहिले जस्तै खेलमा धेरै देखिए। त्यो जिम्मेवारीको भारीपनले उनी प्रभावित भएका थिए।’