काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका उपकप्तान रोहित चन्दको क्लब आरसी–३२ फुटबल एकेडेमीसँग स्पष्टीकरण माग गरेको छ।
एन्फाले धारा १२ र धारा १५ अन्तर्गत सदस्य संस्थाले पालना गर्नुपर्ने कर्तव्य उल्लंघन गर्दै एकेडेमीले फिफाको कारबाहीमा परेका पूर्व अध्यक्ष गणेश थापालाई साधारण सभामा प्रतिनिधिका रूपमा सिफारिस गरेको भन्दै स्पष्टीकरण माग गरेको हो।
काभ्रेको धुलिखेलमा गत वैशाख २६ गते भएको एन्फाको नियमित साधारण सभामा एकेडेमीका कार्यवाहक अध्यक्ष सुदीप चन्दले थापा र सुरेन्द्र बस्नेतलाई साधारण सभामा प्रतिनिधिको रूपमा सहभागी गराउने निर्णय गरेको थियो।
सोही पत्र बोकेर थापा साधारण सभामा सहभागी हुन काभ्रे पुगेका थिए। उनले फिफाले आफूमाथि लगाएको १० वर्षको प्रतिबन्ध फुकुवा भएको भन्दै साधारण सभामा सहभागी हुन पाउनुपर्ने माग राखेका थिए। तर, उनलाई एन्फाले प्रहरी लगाएर रोकेको थियो।
२०७७ को विधानअनुसार कारबाहीमा परेका व्यक्तिलाई कुनै पनि तहमा प्रतिनिधित्व दिन नपाइने प्रावधान भए पनि एकेडेमीले थापालाई प्रतिनिधि बनाएको एन्फाको आरोप छ। यसलाई एन्फाले विधान विपरीत र फिफा निर्णयको उल्लंघन भन्दै आपत्ति जनाएको छ।
एन्फाका सहायक महासचिव क्षमोदर भट्टराईद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ,‘फिफाको अनुशासन कारबाहीमा परेको व्यक्तिलाई एन्फाको साधारण सभामा कुन अधिकार प्रयोग गरी प्रतिनिधि पठाउने निर्णय भयो? यसो गर्दा एन्फाको उद्देश्य र सिद्धान्तमै असर पुगेको छ।’
यसअघि पनि एन्फाले क्लबलाई दुई पटक पत्राचार गरी स्पष्टीकरण मागेको थियो। तर, सन्तोषजनक जवाफ नपाएको जनाएको छ। एन्फाले तेस्रो पटक पठाएको यो पत्रमा सात दिनभित्र स्पष्टीकरणसहित जबाफ पठाउन निर्देशन दिएको छ।
एन्फाले क्लबलाई कारबाही नगर्ने आधार के हो भन्ने प्रश्न पनि उठाएको छ।