काठमाडौं। स्पेनिस लिगमा बार्सिलोनाले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै लेभान्टेमाथि ३–२ को नाटकीय जित हात पारेको छ।
खेलको अन्तिमतिर आएको घरेलु टोलीको आत्मघाती गोलले बार्सिलोनालाई शनिबार महत्त्वपूर्ण तीन अंक दिलाएको हो।
यसैपल्ट बढुवा पाएको लेभान्टेले पहिलो हाफमै अप्रत्याशित रूपमा २–० को अग्रता बनाएको थियो। तर, दोस्रो हाफको सुरुआतमै पेड्री गोन्जालेज र फेरेन टोरेसका गोलमार्फत बार्सिलोना खेलमा फर्कियो।
अन्त्यतिर लामिन यमलको क्रसलाई रोक्न खोज्दा लेभान्टेका उनाई एल्गेजाबालले आफ्नै पोष्टमा हानेपछि बार्सिलोनाले जित सुनिश्चित गर्यो।
बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले पेड्रीको गोलको प्रशंसा गर्दै भने, ‘त्यो गोलले खेल बदलिदियो। पहिलो गोलले नै हाम्रो आत्मविश्वास फर्कायो, तर, अन्तिमसम्म तीन अंक पाउन सजिलो थिएन।’
खेलको १५औं मिनेटमा यमलले बल गुमाएपछि सुरु भएको काउण्टर आक्रमणमा लेभान्टेका स्ट्राइकर इभान रोमेरोले पहिलो गोल गरे।
पहिलो हाफको इन्जुरी समयमा भने होम टिमका जोसे लुइस मोरालेसले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारे। भिडियो रिभ्युले एलेजान्ड्रो बाल्डेको ह्यान्डबल पुष्टि गरेपछि लेभान्टेलाई पेनाल्टी दिइएको थियो।
तर, दोस्रो हाफको ४९औं मिनेटमा यमलको पासलाई टाढैबाट नियन्त्रण गर्दै पेड्रीले शानदार लामो दूरीको प्रहारमार्फत गोल गर्दै बार्सिलोनाको पुनरागमन सुरु गरे। तीन मिनेटमै राफिन्हाको कार्नरलाई भलिमार्फत जाली चुमाएका फेरेन टोरेसले बराबरी गोल थपे।
खेलको अन्त्यतिर निर्णायक गोल यमलको क्रसबाटै सम्भव भयो। उनले गरेको क्रसलाई रोक्न खोज्दा एल्गेजाबालको टाउकाबाट बल आफ्नै नेटमा प्रवेश गर्यो।
गत हप्ता उद्घाटन खेलमा नौ खेलाडीमा सीमित मल्लोर्कामाथि ३–० को सहज जित निकालेको बार्सिलोनाले लगातार दोस्रो जित दर्ता गरेको छ।
यस खेलमा नयाँ खेलाडी मार्कस र्यासफोर्डले बार्सिलोनाका लागि पहिलो पटक लिगमा सुरुवाती खेल खेले। तर, उनलाई पहिलो हाफपछि दानी ओल्मोले प्रतिस्थापन गरे। फ्लिकले भने, ‘र्यासफोर्डले पहिलो हाफमा केही स्थितिहरूमा आफ्नो गुण देखाएका छन्, यस्तै प्रदर्शनलाई निरन्तरता दिनुपर्छ।’
यो खेलमा चोटबाट फर्किएका रोबर्ट लेवान्डोस्कीले पनि दोस्रो हाफमा विकल्प खेलाडीका रूपमा मैदान प्रवेश गर्दै यस सिजन पहिलो मिनेट खेले।
यसैबीच, एट्लेटिको म्याड्रिड भने लगातार दोस्रो खेलमा अंक गुमाउँदै खराब सुरुवातमै अड्किएको छ। लेभान्टेजस्तै नयाँ बढुवा पाएको एल्चेसँग घरेलु मैदानमा १–१ को बराबरी खेल्दै डिएगो सिमेओनेको टोलीले दुई खेलपछि जम्मा एक अंक मात्र जोड्न सफल भएको छ।
एट्लेटिकोका एलेक्जान्डर सर्लोथले खेलको आठौं मिनेटमै उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, सात मिनेटमै एल्चेका राफा मिरले गोल गर्दै खेल बराबरीमा फर्काए। सिमेओनेका छोरा जुलियानो सिमेओनेले हाफटाइमअघि गोल गर्ने सुनौलो अवसर पाए पनि उनको प्रहार पोस्टमा ठोक्कियो।
खेलपछि प्रशिक्षक सिमेओनेले भने, ‘हामी मिहिनेत गरिरहेका छौं, नतिजा आउनेछ। दुई खेलमा जित हात पार्न नसकेकोले मार्ग परिवर्तन गर्नु पर्दैन।’
एल्चेले पहिलो खेलमा पनि रियल बेटिससँग १–१ को बराबरी खेलेको थियो। त्यस्तै, अर्को खेलमा मल्लोर्काले सेल्टा भिगोसँग अन्त्यतिर गोल गर्दै १–१ को बराबरी खेलेको छ।