काठमाडौं। ब्राजिलियन सिरी ‘ए’ आइतबार साँझ असाधारण दृश्यको साक्षी बन्यो।
नेयमारले आँसु झार्दै मैदान छोडे। अर्कोतर्फ फिलिप कौटिन्होले पुनः आफ्नो जादु देखाउँदै भास्को दा गामालाई ६–० को सानदार जिताए। यो नतिजा तीन अंकभन्दा बढी थियो। यो नेयमारसम्मिलित सान्तोसको इज्जतमाथि चोट र भास्कोलाई पुनर्जीवन दिने खेल बन्यो।
लिभरपुल र बार्सिलोनाका पूर्वस्टार कौटिन्हो यसै समरमा भास्को फर्किएका थिए। दोस्रो हाफमा गरेका उनका दुई गोलले दर्शकलाई पुरानो कौटिन्हो क्लासको सम्झना दिलायो।
खेलको सुरुआत लुकास पिटोनले गोल गरे। डेविभ कोरेया डे फोन्सेका, रायन र डानिलो नेभेसकाका गोलले असम्भव लाग्ने ६–० को जित दिलाए।
गत जुन महिनामै सान्तोससँग सम्झौता गरेर घरेलु लिगमै फर्किएका नेयमार यस दिन आफ्नै करियरकै सबैभन्दा ठूलो हारको साक्षी बने।
अन्तिम सिट्टी बज्नेबित्तिकै उनको आँसु रोकिएन। क्लबका कर्मचारीले उनलाई मैदानमै सम्हाल्नुपर्ने अवस्था आयो।
नेयमारले खेलपछि भने,‘म लज्जित छु। हाम्रो प्रदर्शनले पूर्ण निराश बनाएको छ। यो चरम लाजको अनुभव हो। जीवनमा कहिल्यै यस्तो भएको थिएन। दुर्भाग्यवश यसपटक भयो। आँसु, रिस र पीडामा थिएँ। म सबै कुरा नियन्त्रण गर्न सक्दिन। जे होस्, यो पूर्णतः असफलता थियो।’
सन् २००९ मा प्रशिक्षक भ्याग्नर मान्सिनीको निगरानी व्यवसायिक बनेदेखि नै नेयमारले सान्तोस, बार्सिलोना, पेरिस सेन्ट–जर्मेन (पीएसजी), अल–हिलाल र ब्राजिल राष्ट्रिय टिमको जर्सी लगाइसकेका छन्। तर, अहिलेसम्म उनको करियरको सबैभन्दा ठूलो हार भने ४–० को अन्तरमै सीमित थियो, जुन दुई पटक मात्र भएको थियो।
पहिलो पटक २०११ को फिफा क्लब विश्वकप फाइनलमा सान्तोसले बार्सिलोनासँग खेलेको बेलामा ४–० ले पराजित भएको थियो। त्यसको करिब पाँच वर्षपछि नेयमारसम्मिलित बार्सिलोना पीएसजीसँग च्याम्पियन्स लिग खेलमा ४–० को हार बेहोरेको थियो।
यी दुईबाहेक उनको करियरका अरू हारहरू सधैं कम अन्तरका रहे। धेरैले २०१४ को विश्वकप सेमिफाइनलमा ब्राजिल जर्मनीसँग ७–१ ले हारेको खेललाई सम्झाउने गर्छन्। तर, त्यो खेलमा नेयमार खेलेका थिएनन्। ब्राजिल टोलीका मुख्य खेलाडी हुँदाहुँदै पनि उनी क्वार्टरफाइनलमा कोलम्बियाविरुद्धको खेलमा चोट लागेपछि प्रतियोगिताबाट बाहिरिएका थिए।
यो नतिजापछि सान्तोसले तुरुन्तै मुख्य प्रशिक्षक क्लेबेर जाभियरलाई बर्खास्त गरेको छ।
क्लबले विज्ञप्ति जारी गर्दै उनको करियरका लागि शुभकामना दिएको छ। जितसँगै भास्को रेलिगेसन क्षेत्रबाट माथि उठेको छ। भास्को अंका तालिकामा १५औं स्थानमा छ। जुन सान्तोसभन्दा दुई अंक मात्रै कम हो।