काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड समीर तामाङले आफैं एएफसी यु–२३ एसियन कप २०२६ छनोटको पहिलो चरणको प्रशिक्षणमा सहभागी हुन नसकेको बताएका छन्।
समीरले सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘हाल मेरो पारिवारिक समस्या समाधान भएको छ र म अब नेपाली राष्ट्रिय फुटबल टिमसँगै प्रशिक्षणमा सहभागी भइरहेको छु।’
उनले थपेका छन्, ‘म यो विषयलाई लिएर कुनै पनि प्रकारको टीकाटिप्पणी नगर्न सबैसँग अनुरोध गर्दछु।’
यु–२३ टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले प्रारम्भिक चरणको छनोटमा ८९ खेलाडी बोलाएका थिए। तर, उनी गएका थिएनन्। दोस्रो चरणको छनोटमा उनीसहित ३६ खेलाडी एकै पटक बाहिरिएका थिए। त्यसको एक महिनापछि समीरले मुख खोलेका हुन्।
छनोटमा नेपाल समूह ‘के’ मा छ। नेपाल रहेको समूहमा ताजकिस्तान, सिरिया र फिलिसिन्स छन्।
यस समूहको खेल ताजकिस्तानमा हुने एएफसीले जनाएको छ। छनोट प्रतियोगितामा ४४ वटा यु–२३ राष्ट्रिय टोली सहभागी हुनेछन्। ती टोलीलाई ११ समूहमा विभाजन गरिएको छ। छनोट चरणका खेल सेप्टेम्बर १ देखि ९ सम्म सञ्चालन हुनेछन्।
प्रत्येक समूहको शीर्ष टोली र चार उत्कृष्ट उपविजेता टोलीले २०२६ मा साउदी अरबमा आयोजना हुने प्रतियोगितामा स्थान बनाउनेछन्। आयोजक राष्ट्र साउदी भने सिधै छनोट भइसकेको छ।
यससँगै समीर बंगलादेशसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सेप्टेम्बर ६ र ९ मा हुने दुई मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा फर्किएका छन्।