काठमाडौं। एट्लेटिको मड्रिडका लागि स्पेनिस ला लिगाको नयाँ सिजनको सुरुआत निराशाजनक रह्यो।
प्रशिक्षक डिएगो सिमियोनको नेतृत्वमा पहिलो पटक टोली उद्घाटन खेलमै पराजित भएको हो। आइतबार घरेलु मैदानमा भएको खेलमा एस्पान्योलले एट्लेटिकोलाई २–१ ले पराजित गर्यो।
सिमियोनले सन् २०११ मा जिम्मेवारी सम्हालेयता एट्लेटिको कहिल्यै उद्घाटन खेलमा हार्न परेको थिएन। यसअघि क्लबले २००९ मा मात्रै पहिलो खेलमा हार बेहोरेको थियो।
यस खेलमा एट्लेटिकोले आफ्ना नयाँ खेलाडी एलेक्स बाएना, थियागो अल्माडा, जोनी कार्दोसो, डेविड हान्को र मातेओ रुगेरीलाई सुरुआती रोजाइमा उतारेका थिए। दोस्रो हाफमा जियाकोमो रसपाडोरीले पनि डेब्यु गरे।
जुलियन अल्भारेजले ३७औं मिनेटमा फ्री–किकमार्फत गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए। तर, अन्तिमतिर एस्पान्योलले खेललाई उल्टायो। ७३औं मिनेटमा मिगेल रुबियो र ८४औं मिनेटमा पेरे मिल्लाले गोल गरे।
खेलपछि प्रशिक्षक सिमियोनले भने,‘परिणाम पीडादायी छ तर यसले हामीलाई अझ मजबुत बनाउनेछ। टोलीले देखाएको सकारात्मक पक्षले सन्तोष दिएको छ।’
कप्तान कोकेले भने,‘हामीले पहिलो हाफ राम्रो खेलेका थियौं र दोस्रो हाफमा पनि नियन्त्रणमै जस्तो देखिन्थ्यो। तर, उनीहरूको पहिलो गोलपछि खेल बदलियो।’
गत सिजनमा एट्लेटिकोले अग्रता लिएको खेलमा दुई पटक मात्र हार बेहोरेको थियो।