काठमाडौं। आर्सनलले म्यानचेस्टर युनाइटेडको महँगो आक्रमणपंक्तिलाई नियन्त्रणमा राख्दै इङ्लिस प्रिमियर लिगमा १–० को जित हात पारेको छ।
आइतबार सम्पन्न खेलमा डिफेन्डर रिकार्डो कालाफियोरीले १३औं मिनेटमा गोल गर्दै आर्सनललाई जित दिलाए। डेक्लान राइसको कर्नरमा युनाइटेडका गोलरक्षक अल्टाय बायिन्डिरले गलत अनुमान गर्दा कालाफियोरीले नजिकैबाट हेडिङ गोल गरेका हुन्।
यो जितसँगै आर्सनलले आफ्ना सम्भावित प्रतिद्वन्द्वी लिभरपुल र म्यानचेस्टर सिटीसँगै विजयी सुरुआत गरेको छ। गत सिजन १५औं स्थानमै रोकिएको युनाइटेडले प्रशिक्षक रुबेन अमोरिमको अन्तर्गत फेरि हार बेहोर्नु परेको छ।
युनाइटेडले यसपटक आक्रमणपंक्ति मजबुत बनाउन करिब २ अर्ब पाउन्ड खर्च गरेर ब्रायन म्बेउमो, म्याथेउस कुन्हा र बेन्जामिन सेस्कोजस्ता खेलाडी भित्र्याएको थियो।
तर, ओल्ड ट्राफोर्डमा आक्रामक खेल प्रस्तुत गर्दा पनि आर्सनलको बलियो रक्षालाई तोड्न सकेन। कप्तान ब्रुनो फर्नान्डेजले खेलपछि भने,‘परिणामभन्दा पनि हामीले आशा गर्नलायक खेल खेलेका छौं।’
आर्सनलका नयाँ स्ट्राइकर भिक्टर ग्योकेरेस पहिलो खेलमै प्रभाव पार्न सकेनन्। उनी ६०औं मिनेटमा परिवर्तन भए। आर्सनलले भने फेरि पनि सेट पिसबाट गोल गर्दै आफ्नो मजबुत पक्ष देखायो।
अप्टा अनुसार सन् २०२३/२४ सिजनदेखि अहिलेसम्म आर्सनलले ३१ वटा कर्नर गोल गरेको छ, जुन प्रिमियर लिगमा सबैभन्दा धेरै हो। गोलरक्षक डेभिड रायाले भने,‘फुटबलमा कहिलेकाहीँ यसरी पनि जितिन्छ। यस्ता दिनमा तीन अंक हात पार्नु नै मुख्य कुरा हो।’