काठमाडौं। एल्मा राईको ह्याट्रिकसँगै झापा एफसीले एन्फा महिला लिग छनोटमा एकतर्फी जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा झापाले नेपाल वेस्ट म्यानेजमेन्ट टिमलाई ७–० ले पराजित गरेको हो। यो जितसँगै झापाले प्रतियोगितामा तीन अंक जोडेको छ।
झापाको जितमा एल्मा राईबाहेक पुष्पाकुमारी खड्काले दुई गोल थपिन्। यस्तै सुनकला राई र मनिता तामाङले समान एक–एक गोल गरे।
१७औं मिनेटमा सुनकलाको गोलमार्फत झापाले सुरुआती अग्रता लिएको थियो। त्यसको आठ मिनेटपछि नै एल्माले टोलीको अग्रता दोब्बर पारिन्।
५७औं मिनेटमा एल्माले व्यक्तिगत दोस्रो गोल गर्दै झापाको अग्रता ३–० मा पुर्याइन्। ६८औं मिनेटमा पेनाल्टीमा चुके पनि उनले निर्धारित समयको अन्तिम मिनेटमा ह्याट्रिक पूरा गरिन्। जारी प्रतियोगितामा यो दोस्रो ह्याट्रिक हो। उनको भने पहिलो ह्याट्रिक हो।
८१औं मिनेटमा मनिताले गोल गरेपछि ८५ र ८७औं मिनेटमा लगातार दुई गोल गर्दै पुष्पाले झापाको जित सुनिश्चित गरिन्।