लयमा देखिएन चेल्सी

काठमाडौं। क्लब विश्वकप च्याम्पियन बनेको एक महिनापछि चेल्सी प्रिमियर लिगको पहिलो खेलमै अंक गुमाउन बाध्य भएको छ।
आइतबार घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिँदा चेल्सीले जितसँग लिग यात्रा सुरु गर्न सकेन।
गत महिना अमेरिकामा भएको फाइनलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी)लाई हराउँदै चेल्सीले क्लब विश्वकप जितेको थियो।
छोटो प्रि–सिजनका कारण घरेलु लिगको उद्घाटन खेलमा भने चेल्सी लयमा देखिएन। प्यालेसले भने लामो तयारीका साथै गत साताको कम्युनिटी सिल्ड जितेको आत्मविश्वासका साथ खेलेको थियो।
१३औं मिनेटमा एबेरेची एजेले गरेको फ्री–किक गोललाई भिएआरले अस्वीकृत गर्यो। प्यालेस कप्तान मार्क ग्वेही चेल्सीको वालनजिकै उभिएको पाइएपछि अफसाइड दिइएको हो। एजे टोटनह्याममा जाने हुनाले यो उनको प्यालेसका लागि अन्तिम खेल हुनसक्छ।
उता, नटिंघम फरेस्टले भने ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गर्दै सानदार सुरुआत गरेको छ। गत सिजन २० गोल गरेका टोलीका मुख्य स्ट्राइकर क्रिस ऊडले पहिलो हाफमै दुई गोल गरे भने डान न्डोयेले डेब्युमै गोल गर्न सफल भए।







-1762856022963.jpg&w=3840&q=75)





