काठमाडौं। सयौं म्यानचेस्टर सिटी समर्थकले शनिबार मोलिनेक्स पुगेका थिए। पेप ग्वार्डियोला नेतृत्वको टोलीले प्रिमियर लिगको सुरुआत वुल्भरह्याम्पटन वान्डरर्सलाई ४–० ले हराउँदै गर्दा ती समर्थकले ‘सिटी आर ब्याक’ भनेर गीत गाइरहेका थिए।
तर, लगातार चार पटकको लिग उपाधि जिते पनि गत सिजन तेस्रो स्थानमा सीमित हुनुपरेको ग्वार्डियोलाले धैर्यको आग्रह गर्दै भने, एक खेल जित्नु धेरै ठूलो कुरा होइन।
‘सुरुआत राम्रो परिणाम हो, तर गत सिजन पनि हामीले चेल्सीविरुद्ध २–० ले जितेका थियौं, अनि पछि के भयो?’ ग्वार्डियोलाले भने, ‘गत सिजन पनि हामीले भोक र उर्जा देखाएका थियौं। यो त पहिलो खेल मात्रै हो। अझ धेरै खेल्न बाँकी छ।’
यस सिजन सिटी पहिलो पटक केभिन डि ब्रुइनबिना खेलिरहेको छ। रोड्री चोटका कारण बाहिर छन्। ज्याक ग्रिलिश गत हप्तामात्र एभर्टनमा ऋण सम्झौतामा गएका छन्।
गोलरक्षक एडेर्सन पनि शनिबार खेल्न सकेनन्। क्लबका अनुसार उनलाई सामान्य रोग लागेको थियो। यद्यपि, उनी टर्की क्लबमा जाने चर्चा छ।
तर, गवार्डियोलाले नयाँ खेलाडीहरूको प्रदर्शनले उत्साहित पारेको बताए। टिज्जानी रेजिन्डर्स र रायन चेरकी दुवैले गोल गरे भने नयाँ गोलरक्षक जेम्स ट्राफर्डले उत्कृष्ट बचाउ गर्दै सम्भावनायुक्त सिजनको संकेत दिए।
‘टिज्जानी असाधारण खेलाडी हुन्, सिरी ए का उत्कृष्टमध्ये एक। उनको लय अविश्वसनीय छ,’ ग्वार्डियोलाले भने, ‘नयाँ खेलाडीहरू आए, स्क्वाड अझ ठूलो भएको छ। अब हामीले सम्पूर्ण स्क्वाड प्रयोग गर्नुपर्ने हुन्छ किनभने लय निरन्तरता दिन गाह्रो हुनेछ।’