काठमाडौं। च्याम्पियन बायर्न म्युनिखले जर्मन सुपरकप जितेको छ। शनिबार भएको खेलमा ह्यारी केन र नयाँ खेलाडी लुइस डियाजको गोलको मद्दतमा भिएफबी स्टुटगार्टलाई २–१ ले हराउँदै उपाधि हात पारेको हो
बायर्न पुरै खेलभर हाबी देखियो। गोलरक्षक तथा म्यान अफ द म्याच म्यानुअल न्युएर उत्कृष्ट फर्ममा थिए। उनले बुन्डेसलिगा सुरु हुनुभन्दा एक साताअघि टोलीलाई थप आत्मविश्वास दिलाएका छन्।
‘म सधैं टिमको बारेमा सोच्छु र सम्भव भएसम्म राम्रो खेल्छु ताकि सफलता हासिल होस्,’ न्युएरले भने, ‘आज हामीले त्यो गर्यौं। म्यान अफ द म्याच हुनु राम्रो हो तर अन्ततः यो टिमकै लागि हो।’
बायर्नले प्रि–सिजनका सबै खेल जितेको थियो। न्युएरले यो लय बुन्डेसलिगामा पनि लैजाने लक्ष्य व्यक्त गरे। सबैको ध्यान स्टुटगार्टका स्ट्राइकर निक वोल्टेमाडतर्फ थियो। उनलाई बायर्नले अनुबन्ध गर्ने सम्भावना छ।
तर, खेलको १८औं मिनेटमा लुका जाग्वेजको रक्षात्मक त्रुटीको फाइदा उठाउँदै गत सिजनको शीर्ष स्कोरर केनले बायर्नलाई अग्रता दिलाए। जर्मन कप विजेता स्टुटगार्टले चाँडै बराबरी खोज्ने प्रयास गर्यो। वोल्टेमाडले नजिकैबाट प्रहार गरेको बल न्युएरले बचाए।
३९ वर्षीय न्युएरले ७५औं मिनेटमा पनि निर्णायक भूमिका खेले। उनले डिफ्लेक्ट भएको प्रहारलाई उत्कृष्ट प्रतिक्रियामा बाहिर धकेले। त्यसपछि कोलम्बियाली डियाजले आफ्नो पहिलो प्रयासमै गोल गरे। उनले सर्ज ग्नाब्रीको क्रसलाई ७७औं मिनेटमा उनले हेडर गर्दै गोल गरे।