काठमाडौं। एर्लिङ हालान्डको दुई गोलसँगै म्यानचेस्टर सिटीले प्रिमियर लिगमा सानदार सुरुआत गरेको छ।
शनिबार सम्पन्न उद्घाटन खेलमा वुल्भरह्याम्प्टन वान्डरर्सलाई ४–० ले पराजित गरेको हो। सिटीका नयाँ अनुबन्धित खेलाडी तिज्जानी रिजेन्डर्स र रायन चेर्कीले पनि आफ्नो डेब्यू खेलमै गोल गर्दै पेप ग्वार्डिओलाको फेरिएको टिमलाई विजय दिलाए।
गत सिजन तेस्रो स्थानमा सीमित भएको सिटी यो पटक अझ बलियो अभियानको सुरुआत गर्ने लक्ष्यमा छ। हालान्डले इङ्ल्यान्डको शीर्ष लिगमा आफ्नो लगातार चौथो उद्घाटन खेलमा पनि गोल गर्न सफल भए।
३४औं मिनेटमा रिजेन्डर्सले दिएको चिप पासबाट रिको लुइसले लो क्रस हाले र हालान्डले सजिलै गोल पूरा गरे। मिनेटभरमै अस्कार बोब्बले विपक्षीको पासलाई रोक्दै रिजेन्डर्सलाई सेटअप गरे र नेदरल्यान्ड्सका मिडफिल्डरले कुनामा प्रहार गर्दै गोल गरे।
६१औं मिनेटमा फेरि बोब्बकै सहायतामा हालान्डले दोस्रो गोल गर्दै आफ्नो ब्रेस पूरा गरे। ‘एर्लिङ राम्रो लयमा छ, हामीले प्रशिक्षणमै महसुस गरेका थियौं,’ प्रशिक्षक ग्वार्डिओलाले भने, ‘म निकै सन्तुष्ट छु।’
हालान्डलाई दोस्रो हाफको मध्यतिर चेर्कीले प्रतिस्थापन गरे। ८१औं मिनेटमा चेर्कीले चौथो गोल गर्दै सिटीको जित सुनिश्चित गरे। गत सिजन कुनै पनि उपाधि नजितेको सिटीले यो समरमा ठूला परिवर्तन गरेको छ।
रिजेन्डर्स, चेर्की, रायन ऐत–नुरी र गोलकिपर जेम्स ट्राफोर्डलाई ल्याइएको छ। ज्याक ग्रिलिस, काइल वाकर र केभिन डे ब्रुइनले क्लब छाडिसकेका छन। रिजेन्डर्स र चेर्कीको डेब्यू प्रदर्शनले आशाको संकेत देखाएको छ। नयाँ गोलकिपर ट्राफोर्डले पनि उत्कृष्ट सुरुआत गरेका छन्।
‘गोल र असिस्टसहित सुरुआत गर्नु विशेष अनुभव हो,’ रिजेन्डर्सले भने, ‘विशेषगरी प्रिमियर लिगमा यो सपना जस्तै हो। पहिलो खेल सधैं अनिश्चित हुन्छ तर हामीले शान्त रह्यौं र राम्रो ४–० को जित निकाल्यौं।’