नेपालको लगातार दोस्रो हार
शनिबार, साउन ३२, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले टप इन्ड टी-२० सिरिजमा लगातार दोस्रो हार बेहोरेको छ।
शनिबार सम्पन्न खेलमा बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित भएको हो। बंगलादेशले दिएको १८७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर ब्याटिङ गर्दै सात विकेट गुमाउँदै १५४ रन बनायो ।
पहिलो खेलमा नेपाल स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो।
नेपालका कुशल मल्लले अविजित रहँदै सर्वाधिक ५९ रन बनाए। ४७ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरे।
आसिफ शेख २८, लोकेश बम १५, कुशल भुर्तेल १२ र कप्तान रोहितकुमार पौडेलले १० रन बनाए। नन्दन यादव १४ रनमा अविजित रहे।
बंगलादेशका राकिब उल हसनले सर्वाधिक तीन विकेट लिए। हसन महमदले दुई तथा तुफ्याल अहमद र रिपोन मण्डलले समान एक विकेट लिए।













