काठमाडौं। नेपालले टप इन्ड टी–२० सिरिजको पहिलो खेलमै फराकिलो हार बेहोरेको छ।
शुक्रबार सम्पन्न पहिलो खेलमा घरेलु टोली नर्दर्न टोरिटोरी स्ट्राइकरसँग नेपाल ४२ रनले पराजित भएको हो। १७८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३५ रन मात्रै बनाउ सक्यो।
नेपालका कुशल मल्लले सर्वाधिक ३४ रन बनाए। २६ बल खेलेका उनले एक चौका र दुई छक्का प्रहार गरे। गुल्शनकुमार झाले १० बलमा दुई चौका र दुई छक्कासहित २६ रन बनाए। कप्तान रोहितकुमार पौडेल २३, दीपेन्द्रसिंह ऐरी १९ र आशिफ शेख ११ रनमा आउट भए।
नर्दर्न टोरिटोरीका म्याट ह्यामन्डले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले एक मेडनसहित तीन विकेट लिए। केन रिचर्डसनले दुई विकेट लिँदा थोमस एन्ड्रयुज र हामिश मार्टिनको नाममा समान एक विकेट रह्यो।
त्यसअघि अस्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्ड २ मा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली नर्दर्ज टेरिटोरीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७७ रनको योगफल तयार पारेको थियो।
नर्दर्ज टेरिटोरीका कप्तान डी’आर्सी सर्टले सर्वाधिक ५४ रन बनाए। ३४ बल खेलेका उनले सात चौका र एक छक्का प्रहार गरे। जोर्डन सिल्क १९, कोनर क्यारोल १८, क्याडेल म्याकमोहन १२ र ज्याक वेदरल्ड ११ रनमा आउट भए।
थोमस एन्ड्रयुज भने ३२ रनमा अविजित रहे। नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३८ रन खर्चिए।
शाहब आलमले दुई विकेट लिँदा रुपेश सिंह र दीपेन्द्रसिंह ऐरीको नाममा समान एक विकेट रह्यो।