काठमाडौं। ४० वर्षको उमेर। धेरैले भन्छन्– अब विश्राम गर्ने समय भइसक्यो। तर, क्रिस्टियानो रोनाल्डोका लागि ती कुरा एक सल्लाह मात्र हुन्, जुन मैदानमा उनका खुट्टा, आँखा र आत्मविश्वासले सजिलै दबाइदिन्छन्।
फ्रान्सेली क्लब टुलुजविरुद्धको प्रि–सिजन मैत्रीपूर्ण खेलमा रोनाल्डोले फेरि एक पटक आफू किन अझै फुटबल संसारको प्रेरणादायी नाम हुँ भन्ने प्रमाणित गरे।
वेस्लीको असिस्टमा पहिलो हाफको ३३औं मिनेटमा उनले गरेको गोलले अल–नसारलाई बराबरीमा ल्यायो। त्यसपछि अन्त्यतिर सब्स्टिच्युट मोहम्मद मारानको निर्णायक गोलले अल–नसारले २–१ को जित हात पार्यो।
यो दुवै टोलीको नयाँ सिजनका लागि पहिलो तयारी खेल थियो। रोनाल्डोले साडियो माने, जोआओ फेलिक्स र ग्याब्रियल जस्ता नयाँ र पुराना टोली साथीसँग समन्वय गरेको देखियो।
तर, जितको भन्दा बढी चर्चा बटुल्यो, खेलपछि रोनाल्डोले लेखेको एउटा सन्देशले। उनले सामाजिक सञ्जालमा लेखेका थिए,‘भोक कहिल्यै हराउँदैन। अझै काम बाँकी छ, हामी बल्ल सुरुआत गर्दैछौं।’
यी शब्दहरू सन्देश मात्र थिएनन्। ती थिए २० वर्षदेखि शीर्षस्तरमा फुटबल खेलिरहेको खेलाडीको मानसिकता, जो अझै पनि जित्न, मिहिनेत गर्न र प्रेरणा दिन चाहन्छ।
गत सिजन उनले अल–नसारका लागि २५ गोल र तीन असिस्ट गरे। तर, त्यसले पनि क्लबलाई लिग उपाधि दिलाउन सकेन। यसपटक उनी मैदानमा उत्रिनुअघि नयाँ लक्ष्य लिएका छन्। जसरी पनि उपाधि जित्ने, अझ धेरै गोल गर्ने र अझ एक पटक आलोचकहरूलाई मौन बनाउने उनको ध्याउन छ।
यस सिजनको सुरुआतमै रोनाल्डोले जुन सन्देश दिएका छन्, त्यो समर्थकका लागि मात्र होइन। यो सपना देखिरहेका युवा फुटबलरहरूका लागि पाठ पनि हो। र, त्यो पाठ भनेको उमेर संख्या मात्रै हो, खेलप्रतिको भोक भए मैदानमा खेल्न सकिन्छ।