काठमाडौं। ‘नेपालले पेलेदेखि मेसी, एमबाप्पे र रोनाल्डोभन्दा उत्कृष्ट खेलाडी उत्पादन गर्नेछ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा बिहीबार दशरथ रंगशालामा आयोजित ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको उद्घाटनमा उपस्थित साना बालबालिकाहरूलाई सम्बोधन गर्दै ठूलो आशा जगाउन खोजे।
तर, यथार्थमा उनको सरकारको नीति र बजेटले त्यो दाबीलाई उडाउने काम गरेको छ। यो आर्थिक वर्ष २०८२/८३ मा ८० लाख रुपैयाँ मात्र छुट्याइएको फुटबल बजेट देख्दा प्रश्न उठ्छ– के यो बजेटले पेले, मेसी, एमबाप्पे र रोनाल्डोभन्दा अब्बल खेलाडी उत्पादन हुन्छन् त?
यो बजेट कुनै एकेडेमी या ग्रासरुट फुटबलका लागि छुट्टाइएको होइन। यो त सिनियरस्तरका खेलाडीले खेल्ने लिगका लागि मात्रै हो। त्यसमा पनि ४०/४० लाख महिला र पुरुष खेलाडीले बाँढ्ने छन्।
यो बजेट सरकारलाई अचाक्ली लागेको हुन सक्छ। तर, एन्फालाई भने एक लिगको तयारी गर्न पनि अपुग हुन्छ। यस्तो सानो बजेटमा गुणस्तरीय प्रशिक्षण र खेलाडी उत्पादन गर्न केवल कल्पनामा मात्रै सम्भव छ।
विडम्बना यतिमा मात्र सीमित छैन। खेलकुद विकासका लागि सबैभन्दा जरुरी दीर्घकालीन योजना र व्यावहारिक कदम हो। तर, यसलाई भुलेर ओली सरकारले आफ्ना नेताहरूको नाममा हुने स्मृति प्रतियोगितामा करोडौं खर्च गरिरहेको छ।
मदन भण्डारी, गिरिजाप्रसाद र गणेशमान सिंहजस्ता नेताका नाममा बनेका एकेडेमीहरूलाई दिइएको बजेट झन्डै ३ करोड छ। यसरी बजेट विनियोजन गर्नुको उद्देश्य मेसी र रोनाल्डोजस्तो खेलाडी उत्पादन गर्न फिटिक्कै होइन।
यो त आफ्नो नजिक व्यक्तिलाई खुसी पारेर पार्टीको अस्तित्व जोगाउन खेलकुदलाई प्रयोग गरिएको मात्रै हो। उनकै नाममा हुने केपी ओली कपको विजेताले कुन राष्ट्रिय प्रतियोगिता खेल्ने कुन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने टुंगो छैन।
त्यहाँ अब्बल ठहरिएका खेलाडीलाई कहाँ पठाइने हो स्पष्ट नै छैन। तर, उनले यस्ता अस्तित्वहीन प्रतियोगिताका लागि बजेट पानी झैं बगाइरहेका छन्।
यो प्रवृत्तिले नेपाली खेलकुदमा सबैभन्दा ठूलो रोग छ भन्ने प्रष्ट पार्छ। खेलाडीहरूको भविष्य र टिम निर्माणमा लगानी गर्ने सट्टा सरकारले आफूलाई लोकप्रिय बनाउने उद्देश्यले योजना मात्र अघि बढाएको छ। त्यसैले पछिल्लो समय मैदानमा मात्र होइन, नीति र बजेटमा पनि निराशाजनक परिणाम देखिएको छ।
खेलाडीहरूका लागि आवश्यक प्रशिक्षण, भौतिक पूर्वाधार, पोषण र उचित प्रोत्साहनको कमी छ। प्रशिक्षकहरूको स्तर कमजोर छ। तर, त्यो सुधार्ने सरकारको कुनै ठोस पहल देखिन्न। यसले गर्दा गुणस्तरीय खेलाडी उत्पादनको कुरा दृशस्वप्न झैं बनिरहेको छ।
नेपाललाई विश्वस्तरीय खेलाडी उत्पादन गर्न चाहिएको भनेको ठोस नीति, व्यापक लगानी र दीर्घकालीन प्रतिबद्धता हो, जुन अहिलेसम्म सरकारबाट देखिएको छैन।
यसरी राज्यले खेलकुदलाई उदासीन र सतही विषय बनाएको छ। यसले युवापुस्ताको प्रतिभा गर्भमै तुहाउने मात्र होइन, खेलकुदको उद्योगलाई पनि पछाडि धकेलिरहेको छ।
तर, ओली यस्तो अवस्थामा पेले, मेसी र रोनाल्डो जन्माउने सपना देखिरहेका छन्। यो खेलकुदका लागि ठट्टाको विषय मात्रै हो, जसले हजारौं युवा खेलाडीहरूको जीवनमा निराशा र असफलता मात्र थप्नेछ।