काठमाडौं। क्रिस्टियानो रोनाल्डोले प्रि–सिजन मैत्रीपूर्ण खेलमा टुलुजविरुद्ध उत्कृष्ट गोल गर्दै आफ्नो टोली अल–नसारलाई २–१ को जित दिलाएका छन्।
खेलपछि उनले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै अझै पनि जित र मिहिनेतप्रति उस्तै भोख रहेको बताए।
यो खेल अल–नासर र टुलुज दुवैका लागि नयाँ सिजनको तयारी स्वरूप पहिलो प्रि–सिजन खेल थियो। रोनाल्डोले साडियो माने, जोआओ फेलिक्स र ग्याब्रियल जस्ता टोली साथीसँग मिलेर खेले।
खेलको २५औं मिनेटमा टुलुजका ग्बोहोले गोल गर्दै अग्रता दिलाए। तर, ३३औं मिनेटमा वेस्लीको असिस्टमा रोनाल्डोले गोल गर्दै अल–नसरले बराबरी गोल फर्कायो।
खेलको अन्तिमतिर सब्स्टिच्युट मोहम्मद मारानले बाँकी १३ मिनेट रहँदा गोल गर्दै अल–नसारलाई जित दिलाए।
खेलपछि रोनाल्डोले लेखे,‘भोक कहिल्यै हराउँदैन। अझै काम बाँकी छ, हामी बल्ल सुरुआत गर्दैछौं।’ ४० वर्षको उमेरमा पनि उनले आफ्नो जोश र फुटबलप्रति समर्पण कायम राखेका छन्।
गत सिजन रोनाल्डोले अल–नसारका लागि २५ गोल र ३ असिस्ट गरे पनि टोलीले लिग जित्न सकेको थिएन। यस सिजन उनले अझ बढी गोल गर्नुका साथै टोलीलाई उपाधि जिताउने लक्ष्य लिएका छन्।