काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईले यु–२० महिला राष्ट्रिय फुटबल टोली आगामी ६ वर्षका लागि ‘ड्रिम टिम’ भएको बताएका छन्।
भुटानमा हुन लागेको एएफसी महिला यु–२० एसियन कप छनोट खेलका लागि विदाइ कार्यक्रममा उनले टिमको प्रशंसा गर्दै भने,‘हामी २०३१ मा (सिनियर टोली) विश्वकप खेल्ने मिसनमा छौं। त्यसकारणले गर्दा तपाईंहरुको जर्नी भनेको चाहिँ अब जस्ट स्टार्ट हो यो। हामी त्यहाँसम्म जानु ६ वर्ष अझै छ। हामीले इम्प्रुभ गर्दै त्यहाँ जानु छ।’
एन्फाको २०२६ मा एसियन कप र २०२७ मा विश्वकप खेल्ने लक्ष्य थियो। तर, उज्बेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटको निर्णायक खेलमा घरेलु टोलीसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएपछि नेपालको एसियन कप खेल्ने मात्रै होइन, विश्वकप र ओलम्पिक पुग्ने सपना पनि तुहिएको थियो।
अब नेपाल साफ महिला च्याम्पियनसिपबाहेक अन्य मुख्य प्रतियोगिताबाट बञ्चित भएको छ। त्यसैले उमेर समूहका खेलाडीलाई तयार पार्ने मौका एन्फासँग छ। तर, उमेर समूहको टोली पनि सिनियर जस्तै बंगलादेशलगायत केही देशलाई हराउन सकेको छैन।
ढाकामा भएको साफ यु–२० महिला च्याम्पियनसिपमा पनि घरेलु टोलीसँग ३–२ र ४–० को हार बेहोरेपछि नेपाल उपविजेता मै सीमित हुन पुगेको थियो। महासचिव राई उपविजेता हुनु हार नभएको बताउँछन्।
उनी भन्छन्,‘हामीले सुधार गरिसकेका छौं। बंगलादेशमा सिकेका अनुभवहरूले टिमलाई अझ परिपक्व बनाएको छ। सेकेन्ड हुनु हार होइन। तपाईंहरू अहिलेको गोल्डेन टिमको सशक्त ब्याकअप हो।’
टोलीले आगामी भदौ २३ देखि २८ (अगस्ट ६–११, २०२५) सम्म भुटानमा आयोजना हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ। नेपाल समूह ‘बी’ मा रहेको छ। यो समूहमा उत्तर कोरिया, आयोजक भुटान र साउदी अरब पनि छन्।
छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यु–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ।