काठमाडौं। पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले तीन वर्षपछि पुनः स्पेनको मैदानमा फुटबल खेल्ने भएका छन्।
उनीसहितको अल–नासर टोलीले आगामी अगस्ट १० मा स्पेनको अलमेरियामा अलमेरिया एफसीसँग प्रि–सिजन मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
साउदी क्लब अल–नासरले यति बेला क्लब विश्वकपको यात्रा गुमाए पनि व्यस्त गर्मीयाम बिताइरहेको छ। क्लबले हालै रोनाल्डोसँग दुई वर्षको नयाँ सम्झौता गरेको छ। यस्तै, पोर्चुगिज स्टार जोआओ फेलिक्सलाई ४३.७ मिलियन (झन्डै ५८.७ मिलियन अमेरिकी डलर) को सम्झौतामा अनुबन्ध गरेको छ।
अब अल–नासरले आफ्नो ध्यान युरोप भ्रमणमा केन्द्रित गरेका छन्। प्रशिक्षक जोर्गे जेससको टोली अस्ट्रिया, इङ्ग्ल्यान्ड र स्पेनको भ्रमण गर्दै २०२५–२६ सिजनको तयारी गर्दैछ, जुन अब तीन हप्तामै सुरु हुँदैछ।
यही भ्रमणको अन्तिम खेलका रूपमा रोनाल्डोले स्पेनको अलमेरिया स्टेडियममा मैदान टेक्नेछन्। उनले यसअघि रियल मड्रिडको जर्सीमा खेल्दै अलमेरियाविरुद्ध चार खेलमा चार गोल गरेका थिए।
४० वर्षीय रोनाल्डोले गत वर्ष अल–नासरको अलमेरियाविरुद्धको खेल गुमाएका थिए। उनले स्पेनमा अन्तिमपटक सन् २०२२ मा म्यानचेस्टर युनाइटेडबाट युरोपा लिगअन्तर्गत रियल सोसिडाडविरुद्ध खेलेका थिए।
स्पेनभरिका समर्थकहरू रोनाल्डोलाई पुनः स्वागत गर्न आतुर छन्। रियलबाट उनले १६ उपाधि जितेका छन्, जसमा चार च्याम्पियन्स लिगसमेत छन्। उनी क्लब इतिहासका गोल कीर्तिमान कायम गर्ने खेलाडी पनि हुन्।