काठमाडौं। बार्सिलोना गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले सफलतापूर्वक ढाडको शल्यक्रिया गरेका छन्।
यद्यपि, बार्सिलोनाले उनी कति समय मैदानबाट टाढा रहने भन्ने खुलाएको छैन। तर, टेर स्टेगनले यसअघि आफू लगभग तीन महिना रिह्याबमा रहने बताएका थिए।
३३ वर्षीय जर्मन गोलकिपरले लामो समयदेखि लगातार ढाडको तल्लो भागमा समस्या झेलिरहेका थिए, जसलाई समाधान गर्न शल्यक्रिया आवश्यक भएको क्लबले जनाएको छ।
टेर स्टेगनले घुँडाको टेन्डन चुँडिएपछि गत सिजनको अधिकांश खेल गुमाएका थिए। त्यसअघि पनि उनी सन् २०२३ मा अर्को ढाडको समस्या भएर करिब दुई महिना खेलबाट बाहिर थिए।
बार्सिलोनाले गत महिना इस्पान्योलका गोलकिपर जोआन गार्सियालाई टोलीमा भित्र्याएको थियो। अघिल्लो सिजन इनाकी पेना टोलीका रिजर्भ गोलकिपर थिए।