इलाम। कोशी प्रदेश टिमकी कप्तान खुस्मा राई पनि विदेश पलायन भएकी छन्। नेपाली उमेर समूहको महिला टिमबाट खेलिसकेकी डिफेन्डर राई माल्टा लागेकी हुन्।
उनले गत संस्करण ट्रान्सपर्ट युनाइटेड एफसीबाट भुटान महिला राष्ट्रिय लिग र अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको एन्फा महिला लिग खेलेकी थिइन्।
भुटानी लिग खेलेर ढिला फर्किएकी उनले सुदूरपश्चिम प्रदेश, चन्द्रपूर नगरपालिका र विभागीय टोली एपिएफ क्लबविरुद्ध कप्तानी जिम्मेवारी सम्हालेकी थिइन्।
उनले प्रतियोगिताकै कमजोर टोली सुदूरपश्चिमविरुद्धको ४–१ को जितमा एक गोलसमेत गरेकी थिइन्। उनको टोली लिग चरणमा पाँचौं स्थानमा रहँदै सुपर लिगमा छनोट भएको थियो।
तर, अन्तिममा आर्थिक समस्या देखाउँदै लिगमा सहभागी नहुने भएपछि एन्फाले बागमती युथ क्लबलाई सुपर लिगमा खेलाएको थियो। राई ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडको महिला टोलीबाट एन्फा महिला लिग छनोट खेल्ने तयारीमा थिइन्।
तर, आर्थिक अवस्थाका कारण पलायन हुन परेको बताएकी छन्। उनीसँग विभागीय टोली त्रिभुवन आर्मी क्लबसँगै साफ महिला यु–१५ तथा १९ च्याम्पियनसिप, एएफसी महिला यु–१६ एसियन कप छनोट खेलिसकेको अनुभव छ।
एन्फाले उनलाई सन् २०२२, २०२३ र २०२४ सम्म राष्ट्रिय टोलीको क्याम्पमा समेत बोलाएको थियो। तर, सिनियर टोलीमा भने अटाउन सकेकी थिइन्।