काठमाडौं। साफका दुई टोली बंगलादेश र भारत एएफसी महिला एसियन कपमा कठिन समूहमा परेका छन्।
एसियन फुटबल महासंघ (एएफसी)ले मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा मंगबार समूह विभाजन गरेको हो।
बंगलादेश साबिक विजेता चीनसँगै समूह ‘बी’ मा परेको छ। सन् २०२२ मा भारतमा भएको पछिल्लो संस्करणको फाइनलमा चीनले दक्षिण कोरियालाई ३–२ ले पराजित गर्दै नवौंपल्ट उपाधि उचालेको थियो।
यो समूहमा चीन र बंगलादेशसँगै उत्तर कोरिया पनि छ। उत्तर कोरिया सन् २००१, २००३ र २००८ को च्याम्पियन टोली हो। उज्बेकिस्तानले भने सन् १९९५, १९९७, १९९९ र २००१ मा सहभागिता जनाए पनि समूह चरण पार गर्न सकेको छैन। बंगलादेशको भने यो डेब्यु प्रतियोगिता हुनेछ।
भारत भने सन् २०१४ र २०१८ को च्याम्पियन टोली रहेको जापानसँगै समूह ‘सी’ मा परेको छ। जापान पछिल्लो संस्करणमा सेमिफाइनल पुगेको टोली हो।
यी दुई रहेको समूहमा भियतनाम र चाइनिज ताइपेई पनि छन्। चाइनिज ताइपेई पनि तीनपल्टको विजेता टोली हो।
यो टोलीले सन् १९७७, १९७९ र १९८१ मा उपाधि जितेको थियो। भियतानम भने २०२४ र २०२२ मा छैटौं भएको टोली हो। गत संस्करणमा पनि भियतनाम क्वार्टरफाइनलसम्म पुगेको थियो।
भारतले २३ वर्षपछि प्रतियोगितामा पुनरागमन गरेको हो। भारतले अन्तिमपल्ट सन् २००३ मा यो प्रतियोगिता खेलेको थियो। गत संस्करण आयोजक भए पनि कोरोना महामारीका कारण सहभागिता जनाएन।