काठमाडौं। बंगलादेशको खेलकुद क्षेत्रमा अहिले ‘अफैदा खान्दकर’ नाम विशेष चर्चामा छ।
बंगलादेश महिला फुटबल टोलीकी कप्तान अफैदाले टिमलाई ऐतिहासिक सफलता दिलाएकी छन्। उनको कप्तानीमा टोलीले अष्ट्रेलियामा आयोजना हुने एसियन कप फुटबलका लागि बंगलादेशले पहिलो पटक छनोट हुँदै इतिहास रच्यो।
तर, अफैदाको यो आशालाग्दो सफलताको छायाँले उनकी दिदी अफराको संघर्षमय यात्रा भने प्रायः ओझेलमा रहँदै आएको थियो। अफरा फुटबलर होइनन्। उनले चुनेको बाटो फुटबल मैदानको पनि होइन। हो त बक्सिङ रिङ हो।
वर्षौंदेखि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी अफराले महिला जुनियर बक्सिङ च्याम्पियनसिप, बंगलादेश युथ गेम्स, विजय दिवस र स्वतन्त्रता दिवस प्रतियोगिताहरूमा स्वर्ण पदक जितिसकेकी छन्। तर, बंगलादेशमा फुटबल र क्रिकेटले जति प्रचार पाउँछ, बक्सिङले त्यति पाउँदैन।
यद्यपि, अहिले राजधानी ढाकामा जारी ३१औं पुरुष तथा सातौं महिला राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा अफराको प्रदर्शन र उनकी बहिनी अफैदाको लोकप्रियता ह्वात्तै बढेको छ। अफरालाई पनि पहिलो पटक राष्ट्रिय स्तरमा पहिचान दिलाएको छ।
बंगलादेश अन्सारबाट प्रतिस्पर्धा गरिरहेकी अफरा अहिले महिला ५२ केजी तौल समूहमा सेमिफाइनलसम्म आइपुगेकी छन्। दुवै दिदीबहिनीको यात्रा फरक भए पनि एक अर्काबाट छुटिएका छैनन्। अफराको आफ्नो चाहना पनि फुटबलमै थियो।
‘पहिला त मलाई फुटबल खेल्नै मन थियो। मैले बीकेएसपीमा फुटबलका लागि आवेदन दिएकी थिएँ तर नाम निस्किएन,’ अफराले भनिन्, ‘पछि प्रतिभा खोजी कार्यक्रममार्फत १५ दिनको तालिम लिएपछि म बक्सिङमा भर्ना भएँ। सुरुमा फुटबल नखेलेकोमा अफसोस लागेको थियो, तर अहिले छैन। म बक्सिङमा राम्रो गरिरहेकी छु।’
अफैदा र अफराको सफलतामा उनीहरूका पिता आरिफ हसन प्रिन्सको ठूलो योगदान छ। उनीहरूका आमा–बुबा नियमित रूपमा सथ्खिराबाट ढाका पुगेर दुवै छोरीलाई हौसला दिन्छन्। चाहे त्यो फुटबल मैदान होस् वा बक्सिङ रिङ।
अफैदाले बंगलादेशको महिला फुटबलको नेतृत्व गर्दै इतिहास कोर्दै गर्दा अफरा भने बक्सिङमार्फत आफ्नै पहिचान बनाउन लागिपरेकी छन्। उनी भन्छिन्,‘फुटबल र क्रिकेटको छायाँमा बक्सिङ अलिक ओझेलमा पर्छ, तर प्रगति भइरहेको छ। दीर्घकालीन प्रशिक्षण पाए अन्तर्राष्ट्रिय स्तरमा पनि नतिजा ल्याउन सक्छौं।’
शारीरिक शिक्षामा स्नातक गरेकी अफरा भविष्यमा बक्सिङ प्रशिक्षक बन्ने लक्ष्य पनि बोकेकी छन्। राष्ट्रिय महिला च्याम्पियनसिपमा पहिलो पटक सहभागी हुँदा रजत पदक जितेकी अफरा अहिले स्वर्णनजिक पुगेकी छन्।
अफैदाको लोकप्रियता आफूका लागि पनि गर्वको विषय भएको अफरा बताउँछिन्। ‘अफैदाको सफलता हाम्रो परिवारका लागि गर्वको कुरा हो। हामी सबै धेरै खुसी छौं,’ उनी भन्छिन्।
अफैदा र अफरा दुई बहिनी, दुई खेल। एउटीले राष्ट्रिय गौरव बटुलेकी छन्, अर्कीले कम चर्चित खेलमा थुप्रै पदक जितेकी छन्। तर, दुवैको साझा परिचय हो खेलकुदप्रतिको निष्ठा, संघर्ष र सपना। सथ्खिराबाट सुरु भएको यो यात्रा अहिले राष्ट्रिय स्तरमा चम्किन थालेको छ।