काठमाडौं। इन्टर मियामीका कप्तान लिओनल मेसी आइतबार राति मियामीको हार्ड रक स्टेडियममा आफ्ना परिवारसँग कोल्डप्ले कन्सर्टमा सहभागी भए।
३८ वर्षीय मेसीले इन्स्टाग्राममा तस्बिर पोस्ट गरेका छन्। तस्बिरमा उनी पत्नी एन्टोनेला र तीन छोराछोरीसँग निजी सुइटमा देखिन्छन्। यो कन्सर्ट कोल्डप्लेले म्युजिक अफ द स्फियर्स वर्ल्ड टुर अन्तर्गत अमेरिकामा आयोजना गरेको अन्तिम शो थियो। सो कार्यक्रममा मेसी निकै ‘रोमान्टिक मुड’मा देखिए।
शनिबार एफसी सिन्सिनाटीसँग गोलरहित बराबरीमा टुंगिएको खेलमा उनी सहभागी थिएनन्। मेसीले टेक्सासको अस्टिनमा भएको गत साता एमएलएस अल–स्टार खेल गुमाएकाले एक खेलको प्रतिबन्ध खेपिरहेका थिए।
कन्सर्टको क्रममा मेसी र उनकी पत्नी एन्टोनेला विशाल स्क्रिनमा देखाइयो। त्यसक्रममा कोल्डप्लेका मुख्य गायक क्रिस मार्टिनले मेसीलाई परिचय गराउँदै भने, ‘आज हाम्रो कन्सर्ट हेर्न आएकोमा धन्यवाद, संसारकै नम्बर १ खेलाडी।’
त्यसपछि स्टेडियम ‘मेसी! मेसी!’ भन्ने नाराले गुञ्जायमान भयो।