काठमाडौं। इङ्ल्यान्डका मिडफिल्डर ज्याक ग्रिलिश सोमबार म्यानचेस्टर सिटीको प्रि–सिजन प्रशिक्षणमा सहभागी भएका छन्।
२९ वर्षीय ग्रिलिशलाई क्लबले साउदी अरेबियामा हुने फिफा क्लब विश्वकप टोलीबाट बाहिर राखेको थियो। मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले उनलाई ‘अनावश्यक’ खेलाडीको सूचीमा राखेका थिए।
त्यसपछि ग्रिलिशले व्यक्तिगत प्रशिक्षण गर्दै आएका थिए। तर, अब उनी पुनः टोलीमा फर्किएका छन्। सोमबार सिटी फुटबल एकेडेमी (सीएफए) मा सुरु भएको पहिलो प्रि–सिजन प्रशिक्षण सत्रमा उनी सहभागी भए।
प्रिमियर लिग क्लब एभर्टन र वेस्ट ह्याम युनाइटेडले ग्रिलिशमा चासो देखाएका छन्। सिटी उनलाई स्थायी रूपमा बेच्न चाहन्छ तर ट्रान्सफर डेडलाइन नजिकिँदै जाँदा ऋण प्रस्ताव पनि स्वीकार गर्ने सोचमा रहेको बताइएको छ।
ग्रिलिशसँग अझै दुई वर्षको अनुबन्ध बाँकी छ। यद्यपि, क्लबले उनलाई आगामी सिजन धेरै अवसर नदिने स्पष्ट पारिसकेको छ। उनले जनवरीयता प्रिमियर लिगमा एक खेलमा मात्रै सुरुआत गरेका थिए र सिजनको अन्तिम खेलमा त टोलीमा समेत परेका थिएनन्।
यद्यपि, ग्वार्डिओलाले यदि ट्रान्सफर डेडलाइनसम्म उनी क्लबमै रहे भने उनलाई अवसर दिने या नदिने बताएका छैनन्। दुई वर्षदेखि सिटीको पहिलो रोजाइमा नपरेका ग्रिलिश अब आगामी वर्षको विश्वकपलाई ध्यानमा राख्दै अधिकतम खेल्न चाहन्छन्।
उनको भविष्य अझै खुला छ। तर, सिटीमा उनको समय अब सकिँदै गएको प्रष्ट देखिन्छ।