काठमाडौं। महिला फुटबलका लागि महत्त्वपूर्ण ‘टर्निङ पोइन्ट’ मानिएको एएफसी एसियन कप छनोट २०२६ का खेलहरू सकिए पनि नेपाली टिमको व्यवस्थापन र निर्णय प्रक्रियासँग सम्बन्धित विवाद भने अझै सेलाएको छैन।
बेल्जियन नागरिक प्याट्रिक डी वाइल्ड नेपाली टोलीका मुख्य प्रशिक्षक थिए। तर, कप्तान छान्ने मामिलामा उनी आफैं ‘छाया मा परे। लाओसविरुद्धको पहिलो खेलअघि नेपाली टोलीको कप्तानी गोलकिपर अञ्जिला तुम्बापो सुब्वाले सम्हालिरहेका थिए।
तर, उनी सुरुआती ११ मा नपरेपछि कप्तान को हुने भन्ने विषय झन चुलियो। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मिडफिल्डर रेनुका नगरकोटेको नाम कप्तानका रूपमा सामाजिक सञ्जालमा सार्वजनिक गरेको थियो। तर, मैदानमा कप्तानी आर्मब्यान्ड लगाउने अवसर भने सावित्रा भण्डारी (साम्बा) ले पाइन्।
नेपाली टोलीका सहायक प्रशिक्षक राजेन्द्र तामाङ भन्छन्,‘प्रशिक्षक वाइल्डले गोलकिपर कप्तान हुन सक्दैन। त्यसैले म परिवर्तन गर्न चाहन्छु भन्नुभएको हो।’
तर, कप्तान को त? तामाङकै अनुसार वाइल्डले दुई नाम अगाडि सारेका थिए, साम्बा वा डिफेन्डर गीता राणा। तर, अन्ततः कप्तानी आर्मब्यान्ड कसलाई दिइने भन्ने निर्णय अन्तिम घडीमा फेर्दा प्रोटोकल नै मिचिएको उनी दाबी गर्छन्।
म्याच कमिसनले कप्तानको नाम माग्दा आफूहरू झस्किएको उनको भनाइ छ। किनभने निर्धारिक तालिका अनुसार कप्तानको नाम दिने समय नाघिसकेको थियो। तामाङका अनुसार एएफसीले फाइन गर्छ भन्ने डरले बल्ल रेनुकाको नाम पठाइयो हो।
तर, वाइल्डे नै छनोट गरिसकेका साम्बा र गीताको नाम किन पठाइएन त? प्रश्न तामाङमाथि नै उठ्छ।
साँच्चै कप्तानी निर्धारण कसले गर्छ? अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने मुख्य प्रशिक्षकले नै हो। गत जेठ अन्तिममा मात्रै पोल्यान्ड राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मिखाल प्रोबिएर्जले नियमित कप्तान तथा स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई कप्तानी जिम्मेवारीबाट हटाएका थिए।
उनले उक्त जिम्मेवारी पिओत्र जिएलिन्स्कीलाई दिएका थिए। यो विषयमा लेवान्डोस्कीले आपत्ति जनाए पनि पोल्यान्डको फुटबल संघले कुनै प्रतिकृया दिएन। तर, नेपालको पछिल्लो घटनाक्रमले भने निर्णय प्रशिक्षकको होइन, एन्फाबाट चल्छ भन्ने देखाउँछ। यसले उनको हैसियत शून्य नै रहेछ भन्ने पनि स्पष्ट नै पार्छ।
तामाङलाई भने यो कुरामा कुनै मतलब नै छैन। उनी बारम्बार वाइल्डलाई नै दोषी मान्छन्। उनी भन्छन्, ‘खेल सुरु हुन ९० मिनेट अघिसम्म पनि कप्तानको नाम स्पष्ट नहुनु, टिम मिटिङमा त्यसबारे उल्लेख नै नगर्नु, अनि पछि म्याच कमिसनको दबाब भएपछि के गर्नु त?’
वाइल्डलाई प्रो लाइसेन्सधारी, अनुभवी, युरोपेली रणनीति बोकेको प्रशिक्षक हुन्। तर, यस्ता सन्दर्भले उनको नेतृत्व क्षमता नै कमजोर देखिएको तामाङ आरोप छ। खैर उनी अब नेपाल नफर्किने मूडमा छैनन्। त्यसैले अब यो विवाद यही समाप्त हुने आशा गर्न सकिन्छ।