काठमाडौं। क्रिस्टियानो रोनाल्डोले ‘अल–नासर फरएभर’ भनेर सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो भविष्यबारेका सबै अडकलबाजी अन्त्य गरेका छन्।
गत महिना साउदी लिग सकिएपछि ४० वर्षीय रोनाल्डोले एक अध्यायको अन्त्य भनेर सामाजिक सञ्जालमा लेखेका थिए। त्यसयता पाँच पटकका बालन डि’ओर विजेताको भविष्यबारे विभिन्न अडकलबाजी भइरहेको थियो। तर, बिहीबार उनले साउदी क्लब अल–नासरसँग दुई वर्षको नयाँ सम्झौता गरेका छन्।
यो नयाँ सम्झौतासँगै उनलाई कम्तिमा ४२ वर्षको उमेरसम्म खेल्ने बाटो खुला भएको छ। आफ्नो कीर्तिमानी करिअरमा थप उपलब्धि थप्ने मौका पनि उनले पाएका छन्। रोनाल्डो २०२७ लेखिएको जर्सी समातेको तस्वीरसहित उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नयाँ अध्याय सुरु हुँदैछ। उस्तै जोश, उस्तै सपना। सँगै इतिहास बनाऔं।’
रोनाल्डोले सन् २०२२ को अन्त्यतिर म्यानचेस्टर युनाइटेड छाडेर अल–नासरमा सनसनीपूर्ण रूपमा प्रवेश गरेका थिए। त्यो सम्झौता वर्षको करिब २० करोड अमेरिकी डलर मूल्यको मानिएको थियो। त्यसपछि नेयमार, करिम बेन्जेमाजस्ता थुप्रै ठूला नामहरू युरोप छाडेर साउदी अरब पुगेका थिए।
नयाँ सम्झौताले उनी अझ केही ठूला उपलब्धिहरू हासिल गर्न चाहन्छन्। कम प्रतिस्पर्धात्मक लिगमा गए पनि उनले पोर्चुगलको राष्ट्रिय टोलीमा आफ्नो स्थान गुमाएका छैनन्।
च्याम्पियन्स लिगमा सबैभन्दा धेरै १४१ गोल गर्ने र ५ पटक उपाधि जितेका रोनाल्डोले क्लब र राष्ट्रिय टोलीमार्फत २८ ठूला उपाधि जितिसकेका छन्। उनले हालै पोर्चुगललाई युइएफा नेसन्स लिगको उपाधि जिताएका थिए।
तर, विश्वकप अझै उनको ट्रफी संग्रहमा छुटेको एक मात्र ठूलो उपाधि हो. सन् २०२६ मा हुने आगामी विश्वकपमा त्यो सपना पूरा गर्ने उनलाई अन्तिम मौका हुन सक्छ।
रोनाल्डोले साउदी फुटबलको स्तर र लोकप्रियता विश्वभर बढाउन ठूलो योगदान दिएका छन्। अल–नसारका लागि उनले लिगमा ७४ खेलमा ७७ गोल गरेका छन्। तर, उनले तीन सिजनमा पनि साउदी प्रो लिग जित्न सकेका छैनन्। हालसम्म उनले जितेको एकमात्र उपाधि भने २०२३ को अरब क्लब च्याम्पियन्स कप हो।
नयाँ सम्झौताको घोषणा गर्दै अल–नासरले समुद्र किनारमा हिँड्दै गरेका रोनाल्डोको भिडियो पोस्ट गरेको थियो। क्याप्सनमा लेखिएको छ, ‘द स्टोरी कनटिन्यु’ साथमा एउटा गोटको इमोजी र गोल्डेन हार्टको इमोजी राखेको छ।
गोटको अर्थ फुटबल इतिहासकै ‘सबैभन्दा महान खेलाडी’ हो। जुन विशेषण रोनाल्डोलाई दिने धेरै समर्थक छन्। लिओनल मेसीसँगको रोनाल्डोको दशक लामो प्रतिस्पर्धा पनि पछिल्लो समय मन्द भएको छ।
दुवै खेलाडी अहिले कम चर्चित लिगहरूमा छन्। मेसी सन् २०२३ देखि अमेरिका (एमएलएस) को इन्टर मियामीमा छन् भने रोनाल्डो साउदीमा। यद्यपि, उनीहरूको प्रतिस्पर्धा कम भए पनि फुटबलप्रेमीहरूका लागि यी दुवै नाम अझै प्रेरणादायी छन्. रोनाल्डोको यो नयाँ सम्झौताले त्यस कथा अझ केही वर्ष लम्बाउने संकेत गरेको छ।