काठमाडौं। आफ्नो क्लबका विंगर निको विलियम्सलाई भित्र्याउने प्रयास थालेसँगै एथ्लेटिक क्लबले क्याटलान क्लब बार्सिलोनाको आर्थिक क्षमताबारे प्रश्न उठाएको छ।
क्लबले ला लिगासँग बैठक गर्दै बार्सिलोनाले आर्थिक अनुशासनअन्तर्गत खेलाडी अनुबन्ध गर्नसक्ने क्षमताबारे प्रश्न उठाएको हो। बार्सिलोनाका स्पोर्टिङ डाइरेक्टर डेकोले गत साता निको विलियम्स आफ्नो क्लबमा आउन इच्छुक रहेको बताएका थिए।
विलियम्सको रिलीज क्लज ५८ मिलियन युरो छ। क्लब अध्यक्ष जोआन लापोर्टाले पनि बुधबार जोआन गार्सिया (जसलाई एस्पान्योलबाट २५ मिलियन युरोमा ल्याइएको छ) र निको दुवैलाई ला लिगमा दर्ता गर्न सक्नेमा आफू आशावादी रहेको बताएका थिए।
एथ्लेटिकले बिहीबार वक्तव्य जारी गर्दै भनेको छ,‘ला लिगाको अध्यक्ष जेभियर टेबास र एथ्लेटिक क्लबका अध्यक्ष जोन उरिआर्ते उपस्थित बैठकमा वित्तीय अनुशासनबारे छलफल गरियो। बार्सिलोनाले हाम्रो टोलीमा अनुबन्धित खेलाडीलाई लिने सार्वजनिक घोषणा गरिसकेको अवस्थामा नियमअनुसार जानकारी माग गर्नु हाम्रो अधिकार हो।’
बार्सिलोनाले नियम पालना नगरी खेलाडी लैजाने प्रयास गरेमा आफूले असहमति प्रकट गर्ने एथ्लेटिकले जनाएको छ। लापोर्टाले भने एथ्लेटिकको यस्तो प्रतिक्रिया अनावश्यक भएको प्रतिक्रिया दिएका छन्।
उनी भन्छन्,‘म एथ्लेटिकको प्रतिक्रिया बुझ्दिन। हरेक क्लबले आफ्नो कुरामा ध्यान दिनुपर्छ। हामीले आवश्यक सबै प्रक्रिया पूरा गरिसकेका छौं। हामी दुई खेलाडीलाई अनुबन्ध गर्न सक्नेछौं।’
यो विवाद यसअघि बार्सिलोनाले गत जनवरीमा डानी ओल्मो र पाउ भिक्टरलाई दर्ता गर्न अनुमति पाएको विषयसँग जोडिएको छ। त्यतिबेला पनि केही क्लबले आपत्ति जनाएका थिए।
ला लिगा अध्यक्ष टेबासका अनुसार बार्सिलोना अझै आफ्नो खर्च सीमाभन्दा माथि छ। नयाँ खेलाडी अनुबन्ध गर्नुअघि बार्सिलोनाले बजेट घटाउनुपर्नेछ।
यसैबीच, निकोले एथ्लेटिक क्लब छोड्ने इच्छा व्यक्त गरिसकेका छन्। उनका एजेन्ट फेलिक्स टाइन्ताले क्लबलाई यसबारे जानकारी गराइसकेका छन्। यद्यपि, उनी कुन क्लबमा जान चाहन्छन् भन्ने खुलाएका छैनन्।
२२ वर्षीय निकोले सन् २०२१ देखि एथ्लेटिकको पहिलो टोलीमा स्थान बनाएका थिए। अहिलेसम्म उनले १६७ खेल खेलिसकेका छन्। उनी आफ्नो दाजु इञाकी विलियम्ससँगै सान मामेसमा खेल्दै आएका छन्।