काठमाडौं। नेयमारले ब्राजिलियन क्लब सान्तोससँगको सम्झौता २०२५ को अन्त्यसम्मका लागि थप गरेका छन्। उनको उद्देश्य भनेको अर्को वर्षको विश्वकपअघि पुनः उत्कृष्ट लयमा फर्कनु हो।
‘मैले निर्णय गरें र आफ्नै हृदयको कुरा मानें। सान्तोस मेरो क्लब मात्र होइन, मेरो पनि घर हो। मेरो मेरो इतिहास र मेरो जीवन हो,’ ३३ वर्षीय फरवार्ड नेयमारले क्लबले जारी गरेको विज्ञप्तिमा भनेका छन्।
नेयमारले आफ्नो फुटबल यात्रा सान्तोसबाट सुरु गरेका थिए। त्यसपछि उनी बार्सिलोना र पेरिस सेन्ट–जर्मेन हुँदै साउदी क्लब अल–हिलाल पुगे। तर, चोटका कारण १७ महिनामा जम्मा सात खेल मात्र खेल्न सके। त्यसपछि उनी २०२४ जनवरीमा सान्तोस फर्किएका हुन्। सान्तोषमा नेयमारको सुरुको सम्झौता जुन ३० मा समाप्त हुने थियो।
तर, चोटले उनलाई सान्तोसमा पनि सताउन छाडेन। फर्किएदेखि अहिलेसम्म उनले पाँच महिनामा जम्मा १२ खेल खेलेका छन्। ती खेलमा ३ गोल गरेका छन्। घरेलु लिगको पछिल्लो खेलमा बोटाफोगोविरुद्ध खेल्दा हातले गोल गरेर दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिनुपरेको थियो।
ब्राजिलियन च्याम्पियनसिपको हालसम्मको १२ खेलपछि सान्तोस गोलअन्तरको भरमा मात्र रेलिगेसन क्षेत्रबाहिर रहेको छ।
नेयमारको सान्तोस फर्किएपछि पनि विवाद थामिएको छैन। रियो कार्निभालमा रमाइलो गरेको र घाइते अवस्थामा रहँदै ‘किङ्स लिग’ जस्तो शोमा देखापरेको भन्दै आलोचना भइरहेको छ।
नेयमार ब्राजिल राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता हुन्। उनले ७९ गोल गरेका छन्। यो संख्याले उनले अर्का सान्तोसका उत्पादन पेलेलाई (७७ गोल) उछिनेका छन्। तर, विश्वकप जित्ने सपना भने उनले अझै पूरा गर्न सकेका छैनन्।
मार्चमा उनी विश्वकप छनोटका दुई खेलका लागि ब्राजिल टोलीमा फर्किएका थिए। तर, थाई इन्जुरीका कारण अन्तिम समयमा नाम फिर्ता लिनुपरेको थियो। मे महिनामा ब्राजिलका नयाँ प्रशिक्षक कार्लो एन्सेलोट्टीले नेयमारलाई पहिलो पटक टोलीबाट बाहिर राखे।
‘मैले ती खेलाडीहरूलाई रोजें जो फिट छन्। नेयमार भर्खरै चोटबाट फर्केका छन्। उनी कत्तिको महत्त्वपूर्ण खेलाडी हुन् भन्ने सबैलाई थाहा छ। पक्कै पनि हामी उनलाई लिएर गम्भीर छौं,’ एन्चेलोट्टीले भनेका थिए।