काठमाडौं। थ्री स्टार क्लबले आफूलाई ‘बी’ डिभिजनमा घटुवा गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) अपिल कमिटीको निर्णय अन्यायपूर्ण रहेको बताएको छ।
क्लबका निवर्तमान अध्यक्ष अरुणमान जोशीले बुधबार एक विज्ञप्ति निकाल्दै आफ्नो क्लबमाथि एन्फाले लगातार अन्याय गर्दै आएको आरोप लगाएका हुन्।
दुई वर्षअघि सम्पन्न ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा थ्री स्टारले जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै रेलिगेसन टारेको थियो। उक्त खेलमा कप्तान विक्रम लामाले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक भनेको थियो। योसँगै गोलअन्तरले थ्री स्टार अघि रहँदा विभागीय टोली एपिएफ रेलिगेसनमा परेको थियो।
लगत्तै एपिएफले भिसा सकिएका खेलाडी प्रतियोगिताको नियमावली, नेपालको कानुन र फिफाको नियमअनुसार खेलाउन नपाउने जिकिर गर्दै एन्फामा २०८० जेठ २८ गते उजुरी दिएको थियो। एपिएफले त्यस्ता अवैधानिक खेलाडी खेलाए सम्बन्धित टिम ३–० को नतिजामा पराजित हुने नियमअनुसार कारबाही गर्नुपर्ने माग राखेको थियो।
उक्त उजुरीमाथि एन्फाको अनुशासन समितिले त्यसको केही महिनाअघि निर्णय गर्दै थ्री स्टारले खेलाएका खेलाडी अवैधानिक भएको पुष्टी गरेको थियो । तर, अवैधानिक अनुशासन समितिले थ्री स्टार क्लब र सम्बन्धित खेलाडीलाई नगद जरिवानामात्र गरेर मात्रै छाडेको थियो।
अनुशासन समितिको उक्त निर्णयमा असहमति जनाउँदै थ्री स्टार र एपिएफ दुवैले अपिल गरेका थिए। त्यो अपिलमाथि छानबिन गर्दै अपिल कमिटीले गत असार ५ गते अवैधानिक खेलाडी खेलाएवापत थ्री स्टार क्लब उक्त खेलमा ३–० को नतिजामा पराजित हुने निर्णय गरेको थियो।
योसँगै ३ अंक गुमाएपछि थ्री स्टार खुमलटारसँगै रेलिगेसनमा परेको थियो। एपिएफले भने ‘ए’ डिभिजन क्लबको हौसियत पुन: प्राप्त गरेको थियो।
तर, दुई पक्षबीच भएको खेलमा खेलसँग सम्बन्धित नभएको एपिएफको उजुरीको आधारमा कारबाही गर्नु अन्यायपूर्ण व्यवहार रहेको अरुणमानको जिकिर छ। ‘कुनै पनि दुई टोलीबीचको खेलको विषयमा तेस्रो क्लबले उजुरी दिन मिल्छ भन्ने लिग सञ्चालन नियमावलीमा उल्लेख गरेको छैन । त्यो खेलमा संलग्न नभएको एपिएफको उजुरीलाई एन्फाले के कुन आधारमा स्वीकार गर्यो? गैरकानूनी रुपमा उजुरी लिई सो उजुरीको आधारमा भएको एन्फाको पुनरावेदन समितिको निर्णय कतिको जायज छ?,’ उनले प्रश्न गरेका छन्।
पछिल्लो निर्णय लिनका लागि एन्फाको अनुशासन समिति र पुनरावेदन समितिले २ वर्षभन्दा लामो समय लगाएकोमा पनि उनले शंका गरेका छन्। एन्फाका तत्कालीन फिफा कनेक्ट अफिसर अमित खत्रीले उक्त खेलमा खेल्न दिनु भनेर एन्फा सचिवालयबाटै निर्देशन दिइएको बताएका थिए। फिफा कनेक्टमा खेलाडी दर्ता भई खेल खेल्न सहभागी गराइएको अरुणमानको भनाइ छ।
‘के आधारमा त्यो निर्देशन दिइयो ? एन्फा स्वयमले दिएको निर्देशनबाट एन्फा सचिवालय अर्थात एन्फाबाट गल्ती भएको भए सो को जिम्मेबार एन्फा हुनुपर्ने हो, आफूले गरेको गल्ती अरुलाई दिन कदापी मिल्ने होइन,’ उनले भनेका छन्।