काठमाडौं। क्यानडाले बहामासमाथि सानदार जित हासिल गर्दै भारत र श्रीलंकामा हुने आगामी पुरुष टी–२० विश्वकप २०२६ मा आफ्नो स्थान पक्का गरेको छ।
अमेरिका रिजनल क्वालिफायरको आयोजक टोली क्यानडाले लगातार पाँचौं जित निकाल्दै आफ्नो स्थान सुनिश्चित गरेको हो।
कालेम साना र शिवम शर्माले तीन–तीन विकेट लिएपछि क्यानडाले बहामासलाई जम्मा ५७ रनमै समेट्यो। त्यसपछि दिलप्रीत बाजवाले मात्र १४ बलमा अविजित ३६ रनको तुफानी इनिङ्स खेलेर ५.३ ओभरमै लक्ष्य पूरा गरे।
अघिल्लो वर्ष अमेरिका र क्यारेबियनमा सम्पन्न टी–२० विश्वकपमा सहभागिता जनाइसकेको क्यानडा यसपटकको क्वालिफायरमा सबैभन्दा प्रबल दावेदारमध्ये एक थियो। कप्तान निकोलस किर्टनको नेतृत्वमा टोलीले पहिलो खेलमा बर्मुडाविरुद्ध ११० रनको फराकिलो जित निकालेको थियो।
त्यसपछि केम्यान आइल्यान्ड्सविरुद्ध ५९ रनको जित र पहिलो चरणमा बहामासविरुद्ध १० विकेटको सानदार जित हात पार्यो।
दोस्रो चरणमा केम्यान आइल्यान्ड्सविरुद्ध भएको पाँच ओभरको छोटो खेलमा क्यानडाले ८२ रन बनायो र ४२ रनले सहज जित निकाल्यो।
योसँगै क्यानडा विश्वकपमा स्थान बनाइसकेका १० टोलीमा समावेश भएको छ। आयोजक भारत र श्रीलंकाबाहेक अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज, आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान पनि छनोट भइसकेका छन्।
बाँकी रहेका ७ स्थान क्षेत्रीय छनोटबाट भरिने छ।