काठमाडौं। कुशल भुर्तेलको ११औं अर्धशतकसँगै नेपालले स्कटल्यान्ड टी–२० त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित निकालेको छ।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा २ विकेटले पराजय बेहोरेको नेपालले सोही टोलीविरुद्ध बिहीबार ६ विकेटको जित निकाल्दै बदला लिएको हो।
यसअघि स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको नेपाल लगातारको जितसँगै ४ साथ शीर्ष स्थानमा समेत उक्लिन सफल भएको छ। नेपालले अंक तालिकामा नेदरल्यान्ड्स भने जितमा ह्याट्रिक गर्न चुकेको छ।
नेपालभन्दा एक खेल बढी (४) खेलेको नेदरल्यान्ड्सको पनि समान ४ अंक नै छ। नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ४ विकेट गुमाई १८० रन बनाएको हो।
नेपाललाई जित दिलाउन यसपल्ट कुशल नायक बने। ५१ बल खेलेका उनले ६ चौकासहित ६५ रन बनाए। उनले ९.४ ओभरमा ४४ रन बनाउँदा जीवनदान पाएका थिए।
विक्रमजित सिंहको बलमा नोहा क्रोसले उनको क्याच छुटाए। त्यसपछि उनले २१ रन आफ्नो व्यक्तिगत खातामा थपेका हुन्। कुशल उनले ५० रन बनाउन ३८ बल खेले। यसक्रममा उनले ६ चौका प्रहार गरे।
कुशल टी-२० आईमा नेपाली टोलीबाट सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी पनि बनेका छन्। उनले ३५ बलमा अर्धशतक प्रहार गरेका थिए। उनलाई १० अर्धशतकसहित दीपेन्द्रसिंह ऐरीले पछ्याइरहेका छन्।
उनी १५.४ ओभरमा क्रोसबाटै क्याच भएका थिए। त्यतिन्जेल नेपाल ४ विकेट गुमाउँदै १४१ रनको स्थितिमा पुगिसकेको थियो। त्यहाँबाट आरिफ शेख र दीपेन्द्रले सम्हालिएको ब्याटिङ गर्दै नेपाललाई जित दिलाए।
भीम सार्की २७, आसिफ शेख ७ र कप्तान रोहितकुमार पौडेल ५ रनमा आउट हुँदा आरिफ ३९ रनमा रिटायर्ड हट भए। दीपेन्द्र १६ र लोकेश बम १२ रनमा अविजित रहे।
नेदरल्यान्ड्सका बेन फ्लेचर, आर्यन दत्त, ज्याक लिओन र रोएलफ भ्यान डेरले समान एक विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको योगफल खडा गरेको थियो।
नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले सर्वाधिक ८६ रन बनाए। ५३ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे। सकिब जुल्फिकर १४ रनमा आउट हुँदा रोएलफ भ्यान डेर ३६ र आर्यन दत्त १७ रनमा अविजित रहे। अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा नेदरल्यान्ड्स ठूलो लक्ष्य दिनबाट चुक्यो।
नेपालका करण केसीले सर्वाधिक २ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ४० रन खर्चिए। ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले समान १ विकेट आफ्नो नाममा लेखाए।