आलोन्सोको निराशाजनक डेब्यु

काठमाडौं। मुख्य प्रशिक्षक जाभी आलोन्सोको स्पेनिस क्लब रियल मड्रिडमा डेब्यु खेल सुखद रहेन।
क्लब विश्वकपको पहिलो खेलमा अल हिलालले रियललाई १–१ को बराबरीमा रोक्दा उनले जितको स्वाद चाख्न पाएनन्।
अमेरिकाको हार्ड रक स्टेडियममा भएको समूह ‘एच’ अन्तर्गतको यो खेलमा रियलका गोन्जालो गार्सियाले ३४औं मिनेटमा गोल गरे। अल हिलालका रुबेन नेभेसले सात मिनेटपछि पेनाल्टीमार्फत बराबरी गोल फर्काए।
आलोन्सो भन्छन्,‘हामीलाई थाहा छ, परिवर्तन गर्न समय लाग्छ। दोस्रो हाफमा राम्रो प्रतिक्रिया देखियो। हामीलाई यो प्रतियोगितामा राम्रो नतिजा चाहिन्छ। तर, सबै कुरा बिस्तारै ठीक हुन समय लाग्छ।’
दोस्रो हाफको अतिरिक्त समयमा फ्रान गार्सियालाई बक्सभित्र मोहम्मद अलकाहतानीले लडाएपछि भिडियो सहायक रेफ्री (भिएआर) को सहयोगमा रियललाई पेनाल्टी दिइयो।
तर, खेलको ९२औं मिनेटमा फेडेरिको भाल्भेर्डेले प्रहार गरेको पेनाल्टीलाई अल हिलालका गोलकिपर यासिन बोनुले रोके। उक्त क्षणले अल हिलालका खेलाडीलाई उत्सव मनाउने मौका मिल्यो भने भाल्भेर्डे निराश हुँदै घुँडा टेकर बसे।
साउदी अरबको सबैभन्दा सफल क्लबमध्ये एक अल हिलालले प्रशिक्षक सिमोने इन्जाघीको नेतृत्वमा युरोपेली जायन्ट रियलसँग बराबरी खेल्दै प्रतियोगितामा बलियो उपस्थितिको सन्देश दिएको छ।
स्टार स्ट्राइकर अलेक्जान्डर मित्रोभिचको अनुपस्थितिमा पनि अल हिलालले रियलसँग बराबरी खेल्नु उल्लेखनीय उपलब्धि रह्यो। यदि मार्कोस लियोनार्डोले आफ्ना तीन अवसरमध्ये एकमा गोल गरेका भए सायद अल हिलाल विजेता बन्न सक्थ्यो।
तर, पनि इन्जाघी खुसी छन्। भन्छन्,‘हामीले रियलजस्तो बलियो टोलीविरुद्ध राम्रो प्रदर्शन गर्यौं। अरेबिक फुटबल वर्षेनी उकासिँदैछ। यहाँको पूर्वाधार, व्यवस्थापन र क्लबले मलाई दिएको सहयोग उत्कृष्ट छ।’









%20(1)-1777447778534.jpeg&w=3840&q=75)



