काठमाडौं। बुढानीलकण्ठ नगरपालिका वडा–१० ले जुनियर फुटबलर उत्पादन गर्ने उद्देश्यले १४ वर्षमुनिका बालबालिकालाई लक्षित गरेर समर फुटबल क्याम्प सुरु गरेको छ।
नर्थ स्टार फुटबल एकेडेमीको प्राविधिक सहयोगमा बुनपा वडा–१० ले कपनस्थित ह्यान्डबल बहुउद्देश्यीय स्पोटर्स सेन्टरमा बुधबारदेखि ११ दिने फुटबल क्याम्प सुरु गरेको हो। उक्त क्याम्पको बुढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी र वडा–१० का अध्यक्ष नवराज भट्टराईले उद्घाटन गरेका थिए।
सो अवसरमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर विशाल श्रेष्ठ र तेक्वान्दो प्रशिक्षक दीपक दुलाललगायत उपस्थिति थिए। नर्थ स्टार फुटबल एकेडेमी राष्ट्रिय टोलीका पूर्वगोलकिपर विशालले नै सञ्चालनमा ल्याएका हुन्। उनी पनि यसै वडाका बासिन्दा हुन्। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य प्रीति राई पनि यसै मैदानबाट खेल्दै उदाएकी थिइन्।
यस वडाबाट थप प्रतिभावान फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले ७ वर्षदेखि १४ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै क्याम्प सुरु गरिएको वडा–१० का अध्यक्ष नवराज भट्टराईले जानकारी दिए। यस क्याम्पमा कुल ६० जना बालबालिका सहभागी छन्। हरेक बिहान ६:३० देखि ८:३० बजेसम्म सञ्चालन हुनेछ।
राष्ट्रिय टोलीका पूर्वसदस्य विशालको प्रशिक्षण टोलीमा महेश श्रेष्ठ, कपिल ढकाल, सन्दीप खड्का, मनीष पौडेल र जयप्रकाश बोमजन छन्। ११ दिने प्रशिक्षणका क्रममा फुटबलको आधारभूत अभ्यास, बल नियन्त्रण तथा कौशलको विकास, टिम भावना र नेतृत्व विकासका साथै खेलकुदमार्फत अनुशासन र प्रोत्साहनजस्ता पक्षमा बालबालिकालाई प्रशिक्षण गराउने मुख्य प्रशिक्षक विशाल श्रेष्ठले बताए।
उद्घाटनको अवसरमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले नगरभित्र खेलकुद विकासलाई नयाँ उचाइमा पुर्याउने विभिन्न खेल विधाहरूलाई प्रोत्साहित गरिँदै आएको बताएका छन्। मेयर अधिकारीले ह्यान्डबल बहुउद्देश्यीय स्पोटर्स सेन्टरको दोस्रो चरणमा स्तरोन्नतीको काम छिट्टै अगाडि बढ्ने उल्लेख गरे।
सोही अवसरमा वडा–१० का अध्यक्ष नवराज भट्टराईले स्थानीय स्तरमै बालबालिकालाई खेलकुदप्रति प्रेरित गर्दै उनीहरूको प्रतिभा, अनुशासन, आत्मविश्वास र सामाजिक समावेशिताको भावना विकास गर्नु क्याम्पको मुख्य उद्देश्य रहेको बताए। यस किसिमको कार्यक्रमले भविष्यका खेल प्रतिभाहरू उत्पादन गर्ने उनको विश्वास छ।
बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा खेलकुदको भूमिका सशक्त बनाउने लक्ष्यसहित समर क्याम्पको सुरुआत गरिएको बुढानीलकण्ठ नगरपालिका वडा–१० का अध्यक्ष भट्टराईले जानकारी दिए। अध्यक्ष भट्टराईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राम्रो अनुभव र व्यावसायिक रूपमा सफल खेलाडीको प्रशिक्षणबाट राम्रो जुनियर खेलाडी उत्पादनसँगै कुशल नागरिक बन्न प्रेरित हुने विश्वास व्यक्त गरे।