काठमाडौं। इङ्लिस प्रिमियर लिगको २०२५–२६ सिजनको खेल तालिका बुधबार सार्वजनिक भएको छ।
नयाँ सिजनको सुरुआत लिभरपुलले घरेलु मैदान एनफिल्डमा बर्नमाउथविरुद्ध अगस्ट १५ (शुक्रबार राति) गर्नेछ, जुन सिजनको पहिलो खेल पनि हुनेछ।
लिभरपुलले पछिल्ला ६ सिजनमा दुईपटक लिग उपाधि जितिसकेको छ। यसपटक जर्मनीका आक्रामक मिडफिल्डर फ्लोरियन विर्ट्जको आगमनपछि तेस्रो उपाधिको खोजीमा हुनेछ।
नयाँ प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा लिभरपुलले पहिलो महिनामै च्याम्पियन्स लिग खेल्ने अन्य क्लबहरूसँग भिड्नेछ। दोस्रो चरणमा न्युकेसलको मैदानमा र तेस्रो चरणमा आर्सनलविरुद्ध घरेलु भिडन्त तय छ।
आर्सनलले गत सिजन लगातार तेस्रो पटक दोस्रो स्थानमा चित्त बुझाएको थियो। यसपटक उसले पहिलो खेल ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्नेछ। सुरुआती ६ खेलमा आर्सनलले लिभरपुल, म्यानचेस्टर सिटी र न्युक्यासलसँग पनि खेल्नुपर्नेछ।
पछिल्लो सिजन निराशाजनक रूपमा १५औं स्थानमा रहनुपरेको युनाइटेड यसपटक सुधारको खोजीमा हुनेछ। तर, सुरुआती चरणमै उसले म्यानचेस्टर सिटीविरुद्ध डर्बी (चौथो चरण) र चेल्सीसँग घरेलु खेल (पाँचौं चरण) खेल्नुपर्नेछ।