काठमाडौं। आइसिसी महिला टी–२० विश्वकप २०२६ को उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र श्रीलंका भिड्ने भएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको तालिकाअनुसार यी दुईबीचको खेल १२ जुनमा हुनेछ।
यो संस्करण १२ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । खेल तालिकासँगै लिग चरणको समूह विभाजन पनि गरिएको छ। सहभागी १२ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ।
प्रत्येक समूहबाट शीर्ष दुई टोलीले जुन ३० र जुलाई २ मा द ओभलमा हुने सेमिफाइनलमा स्थान बनाउनेछन्। ५ जुलाईमा लर्ड्समा फाइनल हुनेछ ।
एजबेस्टन, ह्याम्पशायर बाउल, हेडिंग्ले, ओल्ड ट्राफोर्ड, द ओभल, ब्रिस्टल काउन्टी ग्राउन्ड र लर्ड्स गरी सात स्थलमा ३३ खेल हुनेछन् ।
समूह ‘ए’ मा साबिक अस्ट्रेलिया र २०२४ को फाइनलमा पुगेको दक्षिण अफ्रिका छन्। यस्तै, एसियाली हेभीवेट भारत र पाकिस्तान तथा ग्लोबल क्वालिफायरका दुई टोली रहनेछन्।
समूह ‘बी’ मा आयोजक इङ्ल्यान्ड, डिफेन्डिङ च्याम्पियन न्युजिल्यान्ड, श्रीलंका, पूर्वविजेता वेस्ट इन्डिज र ग्लोबल क्वालिफायरका अन्य दुई टोली छन् ।