काठमाडौं। तीव्र गतिका बलर जसप्रीत बुमराहले भारतीय टेस्ट टोलीको कप्तानी जिम्मेवारी लिन आफैंले अस्वीकार गरेको बताएका छन्।
३१ वर्षीय तीव्र गतिका बलरले स्काई स्पोर्ट्समा दिनेश कार्तिकसँग कुरा गर्दै ३१ वर्षीय बुमराहले बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) र छनोटकर्तालाई आफूले नै उक्त निर्णय सुनाएको बताए।
बुमराहले भने,‘मैले बिसिसिआई र छनोटकर्तालाई कप्तानी जिम्मेवारी लिन अस्वीकार गरेको थिएँ। मलाई बर्खास्त गरिएको होइन।’ रोहित शर्माको सन्न्यासपछि धेरैले बुमराहले कप्तानी जिम्मेवारी लिने आकलन गरिएको थियो।
भारतीय टोली इङ्ग्ल्यान्ड भ्रमणमा छ। टोलीले ५ टेस्ट खेलको सिरिज खेल्नु पर्नेछ। पहिलो खेल जुन २० देखि लड्समा खेलिनेछ।
रोहित र विराट कोहलीले सन्न्यास लिनुअघि आफूले बोर्डसँग कुरा गरेको उनले दाबी गरे। ‘मैले मेरो खेलको बोझबारे जानकारी गराएको थिएँ। ढाड दुख्ने उपचारपछि मैले सर्जनसँग पनि कुरा गरें। खेलको बोझ थियो, त्यसैले म यो निष्कर्षमा पुगें।’
यद्यपि, बुमराहले इङ्ल्यान्ड विरुद्धको पहिलो टेस्ट खेल्नेछन्। उनले आफ्नो फिटनेसको बारेमा कुरा गर्दै कम्तिमा तीन खेल्ने इच्छा व्यक्त गरे।