काठमाडौं। विश्व टेस्ट च्याम्पियनसिपको आगमनपछि टेस्ट क्रिकेटको रोमाञ्चकता दोब्बरले वृद्धि भएको छ।
यद्यपि, यसलाई अझ रोचक बनाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले खेलको अवस्था परिवर्तन गर्ने भएको छ। आइसिसीले २०२७-२९ विश्व टेस्ट च्याम्पियनसिप चक्रमा साना राष्ट्रका लागि चार दिने टेस्ट खेलाउने तयारी गरेको छ।
तर, भारत, अस्ट्रेलिया र इङ्ग्ल्यान्डजस्ता ठूला टोली अपवाद हुनेछन्। यी तीन टोलीले एकअर्काविरुद्ध परम्परागत पाँचदिने खेल खेल्नेछन्। खेलहरूको संख्या एक दिन घटाउने कदमले साना राष्ट्रहरूलाई धेरै भन्दा धेरै टेस्ट र लामो सिरिज खेल्न मद्दत गर्नेछ।
आइसिसीले पहिलो पटक सन् २०१७ मा द्विपक्षीय खेलका लागि चार दिने टेस्टलाई अनुमोदन गरेको थियो। २०१९ र २०२३ मा आयरल्यान्डविरुद्ध इङ्ग्ल्यान्डले चार दिने टेस्ट देलेको थियो।
इङ्ग्ल्यान्डले गत महिना ट्रेन्ट ब्रिजमा जिम्बाब्वेसँग चार दिने टेस्ट खेल्यो। समय र लागतको कारणले गर्दा धेरै साना राष्ट्र टेस्ट खेल आयोजना गर्न हिचकिचाउँछन्। तर, चार दिने टेस्टतर्फ अघि बढ्दा तीन हप्ताभन्दा कम समयमा तीन टेस्ट खेलको सम्पूर्ण सिरिज खेल्न सकिने आइसिसीले जनाएको छ।