काठमाडौं। यो साता टोरन्टोमा एक उच्चस्तरीय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को भ्रष्टाचार विरोधी टोली उत्रिएको छ।
तर, टोली यहाँ न त टोरन्टोको चम्किलो सहर हेर्न आएका हुन्, न त नियाग्रा फल्सको सौन्दर्यको मजा लिन। यो टोली एक गम्भीर मिसनमा छ– क्यानडाको राष्ट्रिय क्रिकेट टिमसँग जोडिएका अवैध सट्टेबाजी र खेल मिलेमतो (फिक्सिङ)का आरोपहरूको अनुसन्धान गर्न।
आइसिसीले क्रिकेट क्यानडाका एक सदस्यबाट प्राप्त ५८ मिनेट ४७ सेकेन्ड लामो एक अडियो टेपको छानबिन सुरु गरेको हो। यो टेप पञ्जाबी भाषामा छ। ती सदस्यले उक्त टेप आइसिसीलाई पठाएका छन्। लगत्तै ती सदस्यलाई क्रिकेट क्यानडाबाट बर्खास्त गरिएको थियो। उनले पहिले आफ्नो बोर्डसँग टेप सेयर नगरेको आरोप लगाइएको छ।
आइसिसीले यी गम्भीर आरोपहरूलाई निकै चासोका साथ लिएको छ। क्रिकेटको छविमा दाग लाग्न नदिन सजग देखिएका छन्। यसअघि सन् २००० मा दक्षिण अफ्रिकाका कप्तान हेन्सी क्रोन्ये, पाकिस्तानका सलीम मलिक र अता–उर–रहमानलगायतमा लागेको खेल मिलेमतोको आरोपले क्रिकेट दुनियाँलाई हल्लाइदिएको थियो। त्यसपछिको वर्षमा भारतका कप्तान मोहम्मद अजरुद्दिन र अजय शर्मालाई पनि आजीवन प्रतिबन्ध लगाइएको थियो।
दुवै खेलाडीले टोरन्टोको ‘सहारा कप’मा खेलेका थिए। अब क्यानडाली क्रिकेट फेरि आइसिसीको निगरानीमा छ। आरोपअनुसार राष्ट्रिय अन्तरिम प्रशिक्षक खुर्म रशीद चौहनमाथि तीनजना बोर्ड सदस्यहरूले टोली छनोटमा हस्तक्षेप गरेका थिए। ती बोर्ड सदस्यहरूलाई भारत वा पाकिस्तानका सट्टेबाजहरूसँग सूचना आदान–प्रदान गरेको आरोप लगाइएको छ।
चौहनले हरियो पिचका कारण एक बलरलाई नहटाउने निर्णय गरे। तर, त्यस निर्णयको विरोधस्वरूप उनलाई प्रशिक्षक पदबाट हटाइयो। चौहनलाई हटाएर अहिले पूर्व क्यानडाली खेलाडी तथा राष्ट्रिय टिमका महाप्रबन्धक इंगल्टन लिबर्डलाई मुख्य प्रशिक्षक बनाइएको छ।
सोमबार स्थानीय अनलाइन ‘टोरन्टो सन’ ले सम्पर्क गर्दा चौहनले आफूलाई हटाइएको स्वीकार गरे। तर, उनले १५ मिनेटपछि कल गर्नुहोस् भने। पछि उनले कल उठाएनन्। यो एकमात्रै विवाद होइन। क्यानडा क्रिकेट विगत एक वर्षदेखि नै आइसिसीको निगरानीमा छ। क्यानडा क्रिकेटले सलमान खानलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) बनाएको थियो। उनलाई २०१४–१६ बीचमा ५ हजारभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा क्याल्गरी प्रहरीले मुद्दा चलाएको थियो।
सन् २०२४ को टी–२० विश्वकपपछि परिस्थिति झनै बिग्रिएको छ। प्रशिक्षक पबुदु दासानायकले बोर्ड सदस्यहरूले हस्तक्षेप गरेको आरोप लगाएका थिए। उनले भनेका थिए,‘हामी दोस्रो चरण पुग्न सक्थ्यौं, तर मसँग सल्लाह नै नगरी अन्तिम समयमा ५ खेलाडी थपिएपछि त्यो सम्भव भएन। मेरो टोली ९० प्रतिशत योग्य खेलाडीबाट बनेको थियो, तर बोर्डले अरूलाई खेलाउन दबाब दियो।’
त्यसपछि उनलाई पनि बर्खास्त गरियो। उनले गलत तरिकाले आफूलाई प्रशिक्षकको जिम्मेवारीबाट हटाइएको भन्दै मुद्दा हालेका छन्, जुन अझै पनि अदालतमा विचाराधिन छ। अहिले उनी अमेरिका राष्ट्रिय टिमका मुख्य प्रशिक्षक छन्।
यसैबीच, क्रिकेट क्यानडाले श्रीलंकासँग विश्वकप जितेका प्रशिक्षक डेभ वाट्मोरलाई नियुक्त गर्न खोजेको थियो। उनले नेपाली राष्ट्रिय टिमको जिम्मेवारी पनि सम्हालिसकेका छन्। तर, उनले क्यानडा क्रिकेटको अवस्था देखेर प्रस्ताव अस्वीकार गरे। हालै उनी मलेसियाको क्रिकेट निर्देशक बनेका छन्।
मैदानमा पनि क्यानडा संकटमा छ। टोली कप्तान निकोलस किर्टनलाई दुई महिनाअघि बारबाडोसमा २० पाउन्ड गाँजासहित पक्राउ परेका थिए। उनलाई प्रहरीले हिरासतमा लिएको थियो। पछि धरौटीमा रिहा गरिएको थियो।