काठमाडौं। दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) को फाइनल खेलको दोस्रो दिन बिहीबार १४ विकेट झरेको छ।
लन्डनस्थित लर्ड्स मैदानमा जारी यस खेलमा अस्ट्रेलियाले दोस्रो इनिङ्समा आठ विकेटको क्षतिमा १४४ रन बनाएको छ। अस्ट्रेलिया २१८ रनले अगाडि छ। दिनको खेल सकिँदा मिचेल स्टार्कले १६ तथा नाथन लियोनले १ रन बनाए।
दोस्रो दिन १४ विकेट झरेको थियो। यसअघि पहिलो दिन पनि त्यति नै संख्यामा विकेट झरेको थियो। अस्ट्रेलियाले पहिलो दिनको दोस्रो सेसनमा दक्षिण अफ्रिकाको बाँकी ६ विकेट गुमाएको थियो। दक्षिण अफ्रिकाले पनि कंगारु टोलीलाई स्टम्पसम्म आठ विकेट दिएको थियो।
अस्ट्रेलियाले पहिलो इनिङ्समा दक्षिण अफ्रिकालाई १३८ रनमा अलआउट गर्दै ७४ रनको अग्रता लिएको थियो। कागिसो रबाडा र लुंगी एनगिडीको नेतृत्वमा रहेको बलरको उत्कृष्ट प्रदर्शनका कारण दक्षिण अफ्रिकाले पुनरागमन गर्ने प्रयास गर्दै दोस्रो इनिङ्समा पनि अष्ट्रेलियन ब्याटरलाई रोकेको थियो।
अस्ट्रेलियाको ब्याटिङ दोस्रो इनिङ्समा खराब रहेको थियो र उसले ७३ रनमा सात विकेट गुमाएको थियो। त्यसपछि एलेक्स क्यारीले मिचेल स्टार्कसँग आठौं विकेटका लागि ५० भन्दा बढी रनको साझेदारी गर्दै अस्ट्रेलियालाई २०० रनभन्दा माथिको अग्रता दिलाए। दिनको खेल सकिनुअघि नै रबाडाले ४३ रनमा आउट गर्दै क्यारीलाई अर्धशतक बनाउनबाट रोके।
अस्ट्रेलियाका मार्नस लाबुशेनले २२, स्टिभ स्मिथले १३, उस्मान ख्वाजाले ६, ट्राभिस हेडले ९, ब्यू वेबस्टरले ९ र कप्तान प्याट कमिन्सले ६ रन बनाए। बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसो रबाडा र लुंगी एनगिडीले समान ३ विकेट लिए भने मार्को जेनसेन र वियान मुल्डरले १/१ विकेट लिए।
खेलको तेस्रो दिन अस्ट्रेलियाले अग्रता बढाउने प्रयास गर्नेछ भने दक्षिण अफ्रिका जतिसक्दो चाँडो अस्ट्रेलियाको इनिङ्लाई अलआउट गर्ने प्रयासमा हुनेछ।