काठमाडौं। द माइटी साँगाचोक क्लब क्लब र मेलम्ची नगरपालिकाले सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार जित दर्ता गरेका छन्।
माइटी साँगाचोकले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा साँगाचोक युथ क्लबविरुद्ध आठ विकेटको सहज जित निकाल्यो।
साँगाचोकले प्रस्तुत गरेको ९७ रनको लक्ष्य माइटी साँगाचोकले ११.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो। माइटी साँगाचोकका लागि आशोक पौडेलले ३७ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५६ रनको योगदान गरे।
साँगाचोकका लागि सुदीप बस्नेत र रित गौतमले समान एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको साँगाचोकले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ९६ रनको योगफल तयार पारेको थियो।
साँगाचोकका लागि रित गौतमले ३६, कप्तान दिनेश श्रेष्ठले १९ र पारश पुरीले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
माइटी साँगाचोकका लागि उत्सव तिमल्सिनाले तीन, सुमन चौलागाईँ र मनिष पराजुलीले समान दुई तथा नवीन सापाकोटाले एक विकेट लिए।
जितसँगै माइट तीन खेलमा चार अंक जोडेको माइट साँगाचोक शीर्ष स्थानमा छ। परासिजत साँगाचोक समान खेलबाट एक अंकका साथ पुछारमा छ। यता भोटेचौर स्पोर्टस क्लबविरुद्ध २३ रनको जित निकाल्दै मेलम्चीले समूह ‘बी’मा सुखद् सुरुआत गरेको छ।
मेलम्चीले प्रस्तुत गरेको १४७ रनको लक्ष्य पछ्याएको भोटेचौर १९.२ ओभरमा १२३ रनमा समेटियो। भोटेचौरका लागि दुर्गेश थापाले ३७, कप्तान राजेश चौलागाईँले २६, निश्चल थापाले १९ र सुमित झाले १४ रन बनाए।
मेलम्चीका लागि सोनु देवकोटा र उत्तम थापामगरले समान तीन तथा राकेश श्रेष्ठ, विनोद तामाङ र कप्तान रेन्जिङ लामाले समान एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको मेलम्चीले १८. ५ ओभरमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल तयार पारेको थियो।
मेलम्चीका लागि उत्तम थापामगरले २८ बलमा सात छक्का र दुई चौकाको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे। यसैगरी रिन्जिङ लामाले ४५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
भोटेचौरका लागि दुर्गेश थापा र राजिव चौलागाईँले समान तीन तथा सुमित झा र विवेक चौलागाईँले समान एक विकेट लिए।पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा जारी प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।