काठमाडौं। विजय बोहराको अलराउन्ड प्रदर्शनसँगै कर्णाली प्रदेशले तेस्रो जित निकाल्दै यु–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता सक्काएको छ।
बिहीबार सम्पन्न खेलमा कर्णालीले गण्डकीमाथि १५८ रनको विशाल जित निकालेको हो। जितसँगै कर्णालीले ६ खेलबाट ६ अंक पुर्याएको छ। गण्डकी भने अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।
कर्णालीले दिएको २३४ रनको लक्ष्य पछ्याएको गण्डकीले २६.३ ओभरमा ५ रन मात्रै बनाउन सक्यो। गण्डकीका राज परियारले २३ र करण गैरे २१ रन बनाए। अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
कर्णालीका विजयले सर्वाधिक ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले १ मेडनसहित ३० रन खर्चिए। विपिनप्रसाद शर्मा र एकेन्द्र बूढाको नाममा समान २ विकेट रह्यो।
त्यसअघि पहिला ब्याटिङ थालेको कर्णालीले ३६ ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो।
कर्णालीका विजयले अविजित रहँदै सर्वाधिक ८८ रन बनाए। ५८ बल खेलेका उनले ८ चौका र ६ छक्का प्रहार गरे।
नवीन न्यौपाने ५१ र नमनसिंह थापाले ४२ रनको योगदान दिए। गण्डकीका सुशील भुषालले ४, अनिश रावतले ३ र करण गैरेले २ विकेट लिए।