काठमाडौं। मधेश प्रदेश यु-१४ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
सम्पन्न फाइनलमा मधेशले लुम्बिनी प्रदेशविरुद्ध ६ विकेटको जित हासिल गरेको हो।
लुम्बिनीले प्रस्तुत गरेको ५१ रनको लक्ष्य मधेशले ९.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो।
मधेशका ताहिर अन्सारीले १३ र राहुल पासवानले १२ रन बनाए।
लुम्बिनीका सुरज यादव र कप्तान सन्दीप थापाले समान दुई विकेट लिए।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले १८.५ ओभरमा सबै विकेट गुमाउँदै ५१ रनको योगफल तयार पारेको थियो।
लुम्बिनीका आरोनजंग गिरीले अविजित २९ र जोन ओलीले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
मधेशका कृष्ण महतोले तीन, खिलराज सराफ र कप्तान कमलेश दासले समान दुई तथा मोहम्मद ओजैफ अलीले एक विकेट लिए।