काठमाडौं। मध्यम गतिका बलर नन्दन यादवले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्।
आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा उनले डेब्यु गरेका हुन्। उनलाई नेपाली राष्ट्रिय टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले डेब्यु क्याप थमाए।
उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने ४२औं खेलाडी हुन्। अघिल्ला तीन खेलमा बेन्चमा बसेका नन्दनले तीव्र गतिका बलर सोमपाल कामी घाइते भएपछि मैदान उत्रिने मौका पाएका हुन्।
भ्रमणको अन्तिम खेल अर्थात नेदरल्यान्ड्सविरुद्ध खेल्नुअघि प्रशिक्षण दौरान सोमपाल घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
क्यानका अनुसार सोमपालको दायाँ हातमा चोट लागेको छ। त्यसैले उनले नेदरल्यान्ड्सविरुद्धको खेल र त्यसपछिको टी–२०आई त्रिकोणीय सिरिजका सम्पूर्ण खेल गुमाउने भएका छन्।